उचित सेवा सुविधा नपाएको बृद्धबृद्धाको गुनासो


“
काठमाडौँ, भदौ ७ । लामो इतिहास बोकेको पशुपतिको वृद्धाश्रम अहिले पनि सञ्चालनमा छ । हाल यहाँ १७० बृद्धबृद्धा बस्दै आइरहेका छन् । विशेष गरी यो वृद्धाश्रमले बेसहारा बृद्धबृद्धाका लागि सहयोग गर्दै आइरहेको छ ।
बृद्धाश्रमले विगत एक वर्षदेखि सहयोगदातालाई सिधै आफूले ल्याएको सामग्री बाँड्न नदिएपछि भने यहाँका बृद्धहरु यसप्रति आपत्ति जनाउँदै आइरहेका छन् । रामेछापका यमबहादुर कार्की यहाँ बस्न थालेको नौ वर्ष भयो । पहिलेजस्तो यहाँ उचित सेवासुविधा नपाएको उनको अनुभव छ ।
उनी भन्छन्, ‘पहिले आफूले ल्याएको चीजबिज सहयोगदाताकै हातले बाँड्थे । हामीले बेलाबेलामा पैसा पनि देख्न पाइन्थ्यो । नयाँ प्रशासन प्रमुख आएपछि सबै सेवासुविधाहरु केही पाउका छैनौं ।’ सबै सेवासुविधा प्रशासन आफैंले लिएको उनको आरोप छ । उनका अनुसार त्यहाँ खाना खान नसक्ने वृद्धवृद्धालाई पनि आश्रमले दालभात नै खुवाइरहेको स्थिति छ ।
‘पढेलेखेका हाकिम आएपछि हाम्रो स्थिति झनै नाजुक भयो ।’ उनले भने । जाडो महिनामा आश्रमबाट आफूले एक जोर मोजाबाहेक अन्य केही लत्ताकपडा नपाएको उनले जानकारी दिए ।
आश्रमकी अर्की सीता अधिकारी पनि त्यस्तै समस्या भोग्दै आइरहेकी छिन् । यहाँ उनी बस्न थालेको १९ वर्ष बितिसक्योे । उनको अनुभवमा यति धेरै कट्टर बनेको यो पहिलो पटक हो ।
‘वर्षको एकपटक दशैंमा बाहेक अन्य समयमा कपडा नै देख्न पाइँदैन,’ उनले गुनासो पोखिन्, यहाँका बुढाबुढीले खान दिएका खानेकुरा समेत बाहिर पसलमा बेच्ने गरेपछि पहिलेजस्तो सुविधा दिन छाडेको उनी बताउँछिन् ।
पहिले यहाँका वृद्धहरु आफूलाई खान दिएको खानेकुरा समेत बिक्री गरेर त्यो रकमले जाँडरक्सी खाने गर्थे । त्यसैलाई न्यूनीकरण गर्न आश्रमले एक वर्षदेखि सहयोगदाताले ल्याएको खानेकुरा तथा अन्य सामग्री सिधै उनीहरुको हातबाट दिन बन्द गरिएको आश्रमका प्रशासन प्रमुख कृष्णराज कँडेल बताउँछन् ।
‘ल्याएका सामग्री हामी आफैं बृद्धबृद्धालाई बाँड्छौ, बाँकी अन्य आश्रममा पठाउँछौं ।’ कँडेलले भने । आश्रममा सिधै सहयोगदाताको हातबाट दिने प्रचलनको अन्त्य भएसँगै आश्रमका विविध समस्याको अन्त्य हुँदै गएको उनले बताए ।आश्रमले दैनिक रुपमा बृद्धबृद्धाको लागि पाँच पटक खाना खुवाउने व्यवस्था मिलाएको उनले जानकारी दिएका छन् ।
आश्रममा हाल ९५ बृद्धा र ७५ बृद्ध गरी जम्मा १७० आमाबुवाहरु छन् । यो आश्रम पूर्ण रुपमा नेपाल सरकारको स्वामित्वमा छ । आश्रमलाई समाज कल्याण परिषद अन्तर्गत राखिएको छ । २०७२ सालको भूकम्पले आश्रमको एउटा भवन नै ध्वस्त पारिदियो । नत्र यो आश्रमको क्षमता २३० हो ।
“
