कालिमाटी बजारमा देखिएका समस्या अध्ययन गर्न कार्यदल

“
काठमाडौँ, भदौ ६। कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बेथिति नियन्त्रणका उपाप पत्ता लगाउन ५ सदस्यीय कार्यदल गठन भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालको संयोजकत्वमा कार्यदल गठन भएको हो ।
ढकालको कार्यदलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी, गृह मन्त्रालयका सहसचिव, वाणिज्य विभागका महानिर्देशक योग्रेन्द्र गौचन, नेपाल प्रहरी र कालिमाटी फलफुल तथा तरकारी विकास समितिका निर्देशक तेजेन्द्र प्रसाद पौडेल रहेका छन् ।
उपभोक्तालाई ठग्ने तरकारी व्यापारी र बिचौलियाको अन्त्य गरी नियम अनुसार व्यापार व्यवसाय गर्ने वातावरण सिर्जना गर्न गठित कार्यदलले कार्ययोजना बनाउने जिम्मेवारी पाएको छ ।
अनाधिकृत स्टल होल्ड गरी हस्तान्तरण भए नभएको, अस्वाभाविक मूल्य, विषादी नियन्त्रण, व्यवसाय दर्ता लगायतका प्रक्रियाका बारेमा कार्यदलले अध्ययन गर्ने छ । किसान र उपभोक्तालाई ठगिनबाट जोगाउने गरी कार्ययोजना बनाउने समिति सदस्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।
लामो समयदेखि स्टल होल्ड गरेर अरुलाई भाडामा दिने व्यापारीहरुको दर्ता खारेज गर्ने पनि कृषि तथा पशुमन्छी विकास मन्त्रालयले जनाएको छ ।
“








