फेरि ३ दिन विप्लव समूहका प्रवक्तालाई थुनामा

४ भदौ, काभ्रे । जिल्ला अदालत काभ्रेले नेकपा (विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई फेरि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । आइतबार उनलाई ३ दिन हिरासतमा राख्न आदेश दिएको थियोे ।
आइतबार दिएको म्याद सोमबार सकिएपछि प्रहरीले १५ दिन म्याद माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिनको मात्रै म्याद दिएको हो ।

गत वैशाख १ गते नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लुसाइन स्टोन क्रसर उद्योगमा विस्फोटक पदार्थ राख्दा पूर्ण रुपमा क्षति पुगेको थियो । चारवटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त बनाइएको थियो । विप्लवलाई सोहि मुद्दामा प्रहरीले काठमाडौं अदालतबाटै पक्राउ गरेको थियो ।

उनीसँगै केन्द्रीय सदस्य मोहन कार्की र कृष्ण धमलालाई घटनामा संलग्न आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको भए पनि प्रकाण्डलाई प्रहरीले फरार सुचीमा राखेको थियो । उक्त क्रसर उद्योग कांग्रेस नेता कुन्साङ लामाको थियो ।

संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत प्रहरीले क्रसर उद्योगमा आगजनी गरि क्षति र्पुयाउने मोहन कार्की र कृष्ण धमलालाइ मुद्दा चलाएको छ । जसमा प्रहरीको अनुसन्धानबाट मुख्य योजनाकार प्रकाण्ड दोषी देखिएको प्रहरी स्रोतले दावि गरेको छ ।

संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत दफा ७ अनुसार विस्फोटक पदार्थ प्रयोग, हातहतियार प्रयोगबाट केही विध्वंश गर्ने गराउने, अराउनेलाई ३ वर्ष देखि १० वर्षसम्म जेल सजाय रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले जानकारी दिए ।

आइतबार सर्वोच्च अदालतमा प्रकाण्डलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट पनि दर्ता भएको छ ।

काठमाडौंमा पक्राउ परेका प्रकाण्डलाई चन्दा उठाएको आरोपमा बन्दी प्रत्यक्षीकरण रिटकै सुनुवाई गर्दै गत शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । तर त्यसै दिन प्रहरीले क्रसर उद्योगमा भएको विस्फोटको मुद्दामा उनलाई पुनः पक्राउ गरेको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *