काठमाडौँमा खानेपानी अभाव हुन नदिन दह निर्माण हुँदै


“
काठमाडौँ, भदौ ४ । बाग्मतीको पानी पिउन मिल्ने गरी त्यहाँ दहको निर्माण थालिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वाग्मतीको ९० प्रतिशत पानी पिउन मिल्ने भएपछि दहको निर्माण थालेको हो ।
हिँउदका समयमा बाग्मतीमा ढल मिसिने भएपछि दह निर्माणको काम थालेको बाग्मती सभ्यता एकीकृत विकास समितिका सिँचाइ इकाइ प्रमुख आशिषभद्र खनालले बताए ।
‘उपत्यकाको सभ्यताको स्रोतको रुपमा रहेको उक्त नदीमा बग्ने ढल रोकी स्वच्छ पानी बगाउने उद्देश्यले दह निर्माणको छ ।’ उनले भने । धेरैजसो घरहरु उपत्यकामा भएकाले बाग्मतीमा पर्याप्त पानी नहुने हुँदा दह बनाउने योजना ल्याएको उनले जानकारी दिए ।
‘जापान वाटर एजेन्सी’लगायत संस्थाले वाग्मतीको अध्ययन गरी धापमा दह निर्माण गर्नसके वर्षादमा साढे आठ लाख घनमिटर पानी जम्मा गर्न सकिने प्रतिवेदन दिएको थियो ।
गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा वर्षाको पानी जमाउनका लागि रुख काट्ने अनुमति लिन समय लागेकाले २०७४ वैशाखदेखि मात्र काम सुरु भएको हो ।
दह निर्माणपछि हिउँदमा ४० लिटर प्रतिसेकेण्ड पानी वाग्मती नदीमा बगाउन सकिने छ । दहको निर्माणपछि महाशिवरात्री लगायत अन्य महत्वपूर्ण चाडपर्वमा पानीको बहाव बढाएर सफा बनाउन तीन दिनसम्म ७०० लिटरसम्म पानी बगाउन सकिनेछ ।
एशियाली विकास बैंकको रु ५१ करोड ऋण सहयोगमा २४ मिटर उचाइको दह निर्माण गरिने वाग्मती परियोजनाले जानकारी दिएको छ । त्यसका लागि गोञ्जाओ लामा /रमण जेभी निर्माण कम्पनीले दहको ठेक्का लिएको छ । दह निर्माणस्थलमा जाने प्रवेशमार्ग बनाइसकिएको छ भने अहिले गहिराइमा ढुङ्गा र बालुवा भर्ने काम भइरएको छ ।
वाग्मतीको सहायक नागमती नदीमा पनि दह निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । नागमतीमा ९४ मिटर उचाइको दह बनाउन विस्तृत आयोजना प्रतिवेदन तयार भई वातावरणीय प्रभाव मूल्याङ्कनका लागि वन मन्त्रालयमा निवेदन पेश गरिएको छ ।
आउँदो वैशाखसम्ममा दह निर्माण गरिसक्ने उक्त परियोजनाको उद्देश्य रहेको छ ।
“
