पुर्नवहालीको माग गर्दै कामिनी गइन् सर्वोच्च

काठमाडौँ, भदौ ३ । फोरजी विस्तारमा राज्यको करोडौं सम्पत्ति दोहन गर्ने नियत राखेकी नेपाल टेलिकिमकी प्रबन्ध निर्देशक सर्वोच्च गएकी छिन् । टेलिकम डुवाउने खेलमा लागेकी कामिनी राजभण्डारीलाई सरकारले बर्खास्त गरेसँगै उनी सर्वोच्च गएकी हुन् ।

आफू प्रतिस्पर्धाबाट निश्चित अवधिका लागि नियुक्त भएको तर सरकारले गलत मनसाय राख्दै हटाउने निर्णय गरेको भन्दै उनले पुर्नबहाली माग गर्दै भदौ १ गते सर्वोच्चमा रिट दायर गरेकी छिन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको थियो । सरकारले केहि स्वार्थ बोकेका व्यक्तिलाई नियुक्त गर्न प्रतिस्पर्धाबाट नियुक्त भएको व्यक्तिलाई हटाउने खेल खेलेको बताउँदै राजभण्डारीले आफुले टेलिकमको सुधारमा उल्लेख्य काम गरेको जिकिर गरिन् ।

उक्त मुद्दाको पेशी आउँदो आइतबार न्यायाधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासमा तोकिएको छ । कामिनीको रिटमा नयाँ प्रबन्ध निर्देशक छिट्टै नियुक्त हुन सक्ने भएकाले अन्तरिम आदेश जारी गर्दै सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।

पदमुक्त गर्नुअघि गएको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई सरकारले ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै सरकार असन्तुष्ट बनेको थियो ।

यसअघि गत वैशाखमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजभण्डारीलाई बोलाएर टेलिकमको कार्यप्रगतिबारे सोधेका थिए ।

प्रधानमन्त्री ओलीले राजभण्डारीलाई टेलिकमले काठमाडौं र पोखराबाहेक अन्यत्र फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेको लगायतका विषयमा स्पष्टीकरण सोधेका थिए ।

त्यसलगत्तै उनको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै सरकारले उनलाई सात दिने स्पष्टीकरण सोधेको थियो । २०७३ असोजमा उनी तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् ।

सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि प्रबन्ध निर्देशक छनौट प्रक्रिया अन्योलमा परेको छ । सर्वोच्चले कामिनीको पक्षमा अन्तरिम आदेश जारी गरे सरकारको निर्णय खारेज हुँदै राजभण्डारी टेलिकम फर्कने छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 4 =