अाज एघारौं राष्ट्रिय सूचना दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं, भदौ ३ । नेपालमा सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था भएपछि सार्वजनिक चासोको सूचना माग्ने र पाउने हकको कार्यान्वयन क्रमिकरूपमा वृद्धि भइरहेको छ ।

विगत ११ वर्षको अवधिमा सूचना प्राप्तिमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन् । एघारौं राष्ट्रिय सूचना दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइरहँदा सूचनाको हकसम्बन्धी व्यवस्था, यस अवधिमा हासिल भएका उपलब्धि र यसका चुनौतीका विषयमा विभिन्न दृष्टिकोणबाट बहस र छलफल पनि भइरहेका छन् ।

वि.सं. २०६५ साल भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन लागू भएपछि हरेक वर्ष विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो । आइतबार ११ औँ राष्ट्रिय सूचना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आम जनतालाई आफ्नो सरोकार र सार्वजनिक चासोको सूचना माग्ने र पाउने अभियानमा लाग्न आह्वान गर्नुहुँदै यस अवधिमा केही महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

उनले विद्यालय र विश्वविद्यालय तहका गरी ८५ लाख विद्यार्थीको उत्तरपुस्तिका हेर्न पाउने हक सुनिश्चित भएको, लोकसेवा आयोग, शिक्षक सेवा आयोगजस्ता प्रतिस्पर्धात्मक परीक्षामा सहभागी परीक्षार्थीले आफ्नो प्राप्त अङ्क जान्न पाउने हक स्थापित भएको जानकारी दिए ।

यसैगरी, मुलुकले गरेका द्विपक्षीय, बहुपक्षीय सन्धि सम्झौता जान्न पाउने हक स्थापित भएका छन् । विभिन्न विकृति, विसङ्गति रोक्न सूचना आयोग सफल भएको दाबी प्रमुख आयुक्त बाँस्कोटाको छ ।

उनले आयल निगमले केही पहुँचवालालाई निःशुल्क दिँदै आएको पेट्रोलियम पदार्थको कुपन दिने प्रथा अन्त्य भएको र सङ्घ संस्थाभित्र भएका कमी कमजोरी उजागर गरेवापत कोपभाजनमा परेकाहरूलाई आयोगले संरक्षण दिएको जानकारी पनि दिए ।

नेपालको संविधान लागू भएपछि सूचनाको हक सर्वत्र लागू हुने अभियान देखिएको छ, भन्नुहुँदै प्रमुख सूचना आयुक्त बाँस्कोटाले सङ्घ, प्रदेश र ७५३ वटै स्थानीय तह, अन्य संवैधानिक अङ्ग, सरकारी तथा गैरसरकारी निकायमा सूचना अधिकारी तोक्ने र सूचना प्रवाह गर्ने प्रचलनमा वृद्धि भएको बताए ।

आयोगले यसअघि तीन–तीन महिनामा कार्यालयमा भएका गतिविधि आफैं जारी गर्न, सूचना अधिकारी तोक्न र कतिवटा सूचना माग भए र कतिवटा सूचना प्रवाह भयो सो सार्वजनिक गर्न सबै निकायलाई पत्राचार गरेको थियो । यसले पनि सूचना प्राप्तिमा सहजता आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *