‘मकालु’ को पहिलो उडान बैंकक: कोरिया, जापान र रियादमा पनि सेवा शुरु गरिने

काठमाडौँ, भदौ १ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउँदो मङ्गलबारसम्म उडान थाल्ने भएको हो ।

मकालु विमानको उडानका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको छ । मंगलबारदेखि यसले व्यावसायिक उडान शुरु गर्नेछ ।

मकालुले आउँदो सातादेखि बैंककबाट उडान शुरु गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिएका हुन् ।

‘नाइन एन एएलजेट’ कलसाइनको सो विमान गत साउन १० गते काठमाडौँ अवतरण गरेको थियो । निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमान गत असार १४ गते आएको थियो ।

अन्नपूर्णले गत साउन १६ गते कतारको दोहाबाट व्यावसायिक उडान शुरु गरेको थियो । पहिलो उडान दोहा भए पनि भारतको नयाँदिल्ली मात्र उडेको अन्नपूर्णले बिहीबारदेखि बेङ्लोर उडान शुरु गरेको हो ।

दोस्रो वाइड बडी विमान उडाउन स्वदेशी तथा विदेशी विमान चालक (पाइलट) तयार भइसकेका छन् । मकालु विमानका लागि तीन विदेशी र छ नेपाली चालक रहेका छन् ।

दुवै विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो । दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा साङ्ग्रीला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको वाइड बडी विमानले तिहारपछि कोरिया, जापान र रियादमा सेवा शुरु गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =