कीर्तिपुर, टोखा र रामकोटमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौँ, साउन ३१ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ ।

कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपलिकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ४ स्थित चम्पादेवीमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र मेगा बैंक नेपाल लिमिटेडका शाखारहित बैकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले संयुक्त रुपमा कारोबारको सुरु गरेका छन् ।

मेयर महर्जनले कीर्तिपुरबासीको आर्थिक अवस्थामा सुधार गर्न मेगा बैंकले चालेको कदमको स्वागत गर्दै यस क्षेत्रमा नमुना बैकिङ्ग कारोबार गर्ने बैंकको रुपमा स्थापित होस् भन्ने शुभकामना ब्यक्त गरे ।

यसैगरी, रामकोटमा शाखारहित बैंकिङ सेवाको सुरुवात गर्दै नागार्जुन नगरपालिकाका मेयर मोहनकुमार बस्नेतले शाखारहित बैंकिङ सेवाको सुरुवातले रामकोट क्षेत्रमा विकासको ढोका खोल्ने बताए ।

मेगा बैंकको सरल कर्जाबाट ग्रामीण भेगका धेरै साना तथा मझौला ब्यवसायीहरु लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।

यसैगरी, टोखाको झोरमा शाखारहित बैंकिङ सेवाको सुरु गर्दै टोखा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले घरदैलोमै शाखारहित बैंकिङ सुविधा पाउनु यस क्षेत्रका बासिन्दाका लागि अवसर भएको बताए ।

मेगा बैंकका शाखारहित बैंकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैँयासम्मको कर्जा दिन मेगा सरल कर्जाको ब्यवस्था गरिएको बताए ।

अब थोरै रकम पनि जम्मा गर्न टाढाको बैंकमा गई लाइन बस्न नपर्ने बताउँदै उनले घर नजिकैको शाखारहित बैंकिङ सेवाबाट जुनसुकै बेला पनि रकम जम्मा गर्न र आवश्यक परेको खण्डमा झिक्न सकिने ब्यवस्था मिलाइएको बताए ।

मेगा बैंकका देशभर १ सय १९ वटा शाखारहित बैकिङ्ग सेवा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =