शिक्षक संघर्ष समितिले ज्ञापन बुझायो

लम्की, साउन ३१ । नेपाल बाल विकास शिक्षक संघर्ष केन्द्रिय समितिको निर्णय अनुसार बाल विकास शिक्षकका विभिन्न सात बुँदे माग राख्दै आज देशभरी शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन पत्र बुझाइएको छ ।

संघर्षका कार्यक्रम अनुसार नेपाल बाल विकास शिक्षक समिति कैलालीले कैलाली जिल्लामा समेत आज ज्ञापन पत्र बुझाएको छ ।

नेपाल बाल विकास शिक्षक समिति कैलालीका अध्यक्ष निर्मला तिमिल्सैना, सात नम्बर प्रदेश अध्यक्ष लक्ष्मी भट्ट, प्रदेश सचिव निर्मला गिरी, जिल्ला उपाध्यक्ष गीता रावल कुँवर, जिल्ला कोषाध्यक्ष चक्र बयक, जिल्ला सहसचिव पार्बती धमाला लगायतका बाल विकास शिक्षकहरुको उपस्थितिमा कैलालीका शिक्षा विकास तथा समन्वय इकाईका उपसचिव विष्णुदत्त भट्टलाई ज्ञापन पत्र बुझाएका हुन ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा ज्ञापन पत्र बुझाउनु अघि नेपाल बाल विकास शिक्षक समिति कैलालीका अध्यक्ष निर्मला तिमिल्सैनाले बाल विकास शिक्षकका माग र संघर्षका कार्यक्रम पढेर सुनाएकी थिइन्।

उक्त अवसरमा शिक्षा विकास तथा समन्वय इकाईका उपसचिव विष्णुदत्त भट्टले बाल विकास शिक्षकका माग सम्बोधनका लागि आफुले पहल गर्ने बताए ।

ज्ञापन पत्रमा प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत बाल विकास शिक्षकलाई दरबन्दीमा समावेश गर्नुपर्ने , प्राथमिक तहका शिक्षक सरह सेवा सुविधा पाउनुपर्ने , बालमैत्री कक्षाकोठाको व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुँँदे माग उल्लेख गरिएको छ ।

संघर्षका कार्यक्रम अनुसार आज देशभरि जिल्ला शिक्षा विकास समन्वय इकाईमा ज्ञापन पत्र बुझाउने, भाद्र ३ गते ७ वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने , भाद्र ६ गतेदेखि ८ गतेसम्म हातमा कालो पट्टी बाँधेर अध्यापन गर्ने, भाद्र १० गते स्थानीय निकायमा २ घण्टा धर्ना लगायतका कार्यक्रम रहेका छन् ।

प्रारम्भिक बाल विकास (इसिडी) मा कार्यरत शिक्षकहरु शिक्षा ऎनको आठौं संशोधनले इसिडिलाई विद्यालय तहमा समायोजन गरेपछि अन्य शिक्षक सरह सेवा सुविधा पाउनु पर्ने माग राखी आन्दोलनमा रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *