भारतमा भिषण बाढीः ७३ जनाको मृत्यु, विमानस्थल २ दिन बन्द गरिने

“
भारत, साउन ३१ । भारतको केरला राज्यमा भिषण वर्षापछि आएको बाढीले ७३ जनाको मृत्यु भएको छ भने ८५ हजार भन्दा बढी विस्थापित भएका छन् ।
वर्षाका कारण १४ जिल्लाका सबै शिक्षण संस्था समेत ठप्प रहेका छन् । राज्य सरकारले मृत्यु हुने धेरै बाढीले निम्ताएको पहिरोका कारण भएको बताएको छ । यतिबेला बाढिपिडितको उद्धार कार्य जारी राखिएको छ ।
केरलामा मुख्य ४४ खोलाहरुका ड्याम खोलिदिइएको छ । अवस्था निकै नाजुक भएपछि केरलाको व्यस्त कोचिन अन्तर्राष्ट्रिय विमानस्थल २ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । बाढी प्रभावितलाई यतिबेला सहायता प्रदान गर्ने कार्य जारी राखिएको छ ।
घटनापछि केरलाका मुख्यमन्त्री पिनारायी भिजयानले केरलामा इतिहासमै पहिलो पटक घातक प्राकृतिक प्रकोप देखा परेको बताए ।
घटनाप्रति दुख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धार तथा सहायतालाई तिव्रता दिन निर्देशन दिएका छन्।
“








