शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा चलखेल भयो– डा. गोविन्द केसी

काठमाडौँ, साउन ३० । डाक्टर गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिका क्रममा चलखेल भइरहेको भन्दै कार्यकारी निर्देशक वरिष्ठताका आधारमा नियुक्त गर्न माग गरेका छन् ।

न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याइ बर्खास्तीको सिफारिश गरेका त्रिवि पदाधिकारीले शिक्षण अस्पतालको कार्यकारी निर्देशकको नियुक्तिमा चलखेल गरेको आरोप लगाउँदै डा. केसीले कार्यकारी निर्देशक वरिष्ठताका आधारमा नियुक्त गर्न माग गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.दीपक महरा पदमुक्त भएपछि हाल रिक्त भएको पदमा कार्यकारी निर्देशक नियुक्तिका लागि सर्च कमिटी बनाउँदा खेरी वरिष्ठ प्राध्यापक मध्येबाट बनाउनुपर्नेमा त्यसो नगरिएको उनको आरोप छ ।

सो सर्च कमिटीलाई खारेज गर्न केसीले माग गरेका छन्। सो कमिटीबाट वरिष्ठता र योग्यताका स्थापित आधारमा नभई दलीय वफादारी र भागवण्डाका आधारमा नियुक्तिका नाम सिफारिस भएको डा केसीको आरोप छ । सो नियुक्ति कुनै पनि हालतमा मान्य नहुने डा केसीले जनाएका छन्।

बैज्ञानिक र पारदर्शी विधि नबन्दासम्म र त्यसको कार्यान्वयनका लागि राजनीतिक नेतृत्व इमान्दार नहुँसदाम्म वरिष्ठताका आधारमा अस्पतालको कार्यकारी निर्देशक, चिकित्सा शिक्षा अध्ययन संस्थानको डीनलगायतका पदाधिकारी नियुक्त गर्नुको विकल्प नभएको डा. केसीले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्तिमा वरिष्ठताका आधारमा तीन जनाको नाम सिफारिश गर्न केसीको माग छ। त्यसरी सिफारिश भएकामध्ये कोही नियुक्त भए पनि त्यो मान्य हुने उनले जनाएका छन्।

डा केसीले न्यायिक जाँचबुझ आयोगको सिफारिश तथा उनीसँग भएको पछिल्लो सहमति अनुसार तत्काल त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्न माग समेत गरेका छन्। त्यस्तै पछिल्लो समय गरिएको सहमति कार्यान्वयन गर्न समेत सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =