सांसद त्रिपाठीले भने, ‘कुखुरा, परेवा जे देख्यो त्यसमा कर लगाइदिने ?’

काठमाडौं, साउन २८ । स्थानीय सरकारले मनोमानी ढंगले कर लगाउने काम गरिरहेको भन्दै सांसद हृदयेश त्रिपाठीले त्यसतर्फ तत्काल गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै तत्काल कर वृद्धिको समस्या समाधानतर्फ सरकारले पहल नगरेमा संघीयता खतरामा पर्ने चेतावनी समेत दिएका छन् ।

‘स्याङजामा एकजना ज्योतिषलाई २ हजार कर लगाइएको रहेछ’, उनले भने, ‘कुखुरा, परेवा जे देख्यो त्यसमा कर लगाइदिने ?, हुँदा हुँदा अब मान्छे माथि कर लगाउने स्थिति आइसक्यो । यस विषयमा सरकार सचेत भएन भने कसै–कसैलाई लागेको होला संघीयतालाई बदनाम गर्नलाई यो पर्याप्त छ । तर संघीयता एक्लै अब घायल हुनेवाला छैन । कर विरुद्धको आन्दोलन सुरु भइसकेको छ । त्यसतर्फ ध्यान दिइएन भने संघीयता एक्लै मात्रै घायल हुनेवाला छैन । अरु चिज पनि घायल हुनेवाला छन् । त्यसकारण सबैले आफ्नो आफ्नो इष्टदेवको फोटो लिएर रुँनुपर्ने अवस्था आउला ।’

उनले सरकारको मनोमानी ढंगकोे कर वृद्धिलाई आम नागरिकले चुनावले दिएको उपहार भन्ने बुझ्न थालिसेकेको भनी व्यंग्य गरे । उनले संघीयताको विफलताभन्दा पनि कर प्रणाली र कर शैलीको विफलता भएको भन्दै कर वृद्धिको समस्या अबिलम्ब सम्बोधन गर्न सरकारसँग माग गरे ।

लामोसमयदेखी उखु किसानले सरकारद्धारा घोषित मूल्य पाउन नसकेको भन्दै उनले एक वर्षदेखि बाँकी रहेको किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराए । चिनी मिल मालिकहरुको अगाडि सरकार लाचार भएको आरोप समेत उनले लगाएका छन् ।

साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम समर्थन मूल्यमा परिर्वतन नगरेसम्मका लागि २०७५ जेठ १५ देखि लागू हुने गरी उखु उत्पादक किसानहरुलाई प्रति क्वीन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *