प्रतिनिधिसभा बैठक : शून्य समयमा सांसदहरुले के–के भने ?

काठमाडौं, साउन २८ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आ–आफ्नो क्षेत्रको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद उमाकान्त चौधरीले बारा जिल्लामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको काम अघि बढ्न नसकेको भन्दै दुवै आयोजनाको स्थितिबारे सदनलाई जानकारी गराउन माग गरे ।

सांसद कृष्णप्रसाद दाहालले राजधानीलाई जोड्ने बैकल्पिक राजमार्ग कान्ति राजमार्गको काम सम्पन्न हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदारलाई कारवाहीको माग गरे ।

सांसद कृष्णभक्त पोखरेलले संविधानको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त बासस्थानको व्यवस्था हुने उल्लेख भएकाले आवश्यक कानुन निर्माण गरि आगामी असोज ३ गते भित्र असुरक्षित बसोबास गरिरहेकालाई सुरक्षित स्थानमा सार्छु भनि संकल्प गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयभित्रै सम्पन्न्न गर्नेतर्फ तदारुता देखाउन सरकारको ध्यानाकर्षण गराए । उनले विमानस्थल निर्माणमा अवरोध पुर्याउन प्रयास गर्नेलाई कारवाही गर्न पनि माग गरे ।

सांसद गगनकुमार थापाले आगामी भदौ १४ र १५ गते राजधानीमा हुन लागिरहेको विमेस्टेक शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुनालाई एउटै होटलमा नराखी फरक–फरक होटलमा राख्न तथा राजधानीको सडक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद घनश्याम खतिवडाले मोरङ जिल्लाको उत्तरमा रहेको चिस्यान खोला र बक्राहा खोलामा निर्माणाधीन पुल र लेटान ६ नम्बर बुधबारे मोटर बाटो तथा उर्लाबारी मधुमल्ला रबि बाटो निर्माणमा ठेकेदारको लापरवाही देखिएकोबारे गुनासो पोखे ।

सांसद खतिवडाले निर्माण कार्यमा लापरवाही गर्ने ठेकेदारलाई आवश्यक कारवाही गर्न माग समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *