मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

चितवन । चितवनको चितवन मानव सेवा आश्रमले ११२ जनालाई पुनः स्थापना गरेको छ । उद्धार गरेर ल्याइएका बेसहारामध्ये उनीहरूको परिवारसँग पुनः स्थापना गरिएको हो ।
भरतपुर महानगरपालिका–९ स्थित सो आश्रम विसं २०७२ भदौबाट सञ्चालन गरिएको थियो । आश्रमले हालसम्म २४५ जनाको उद्धार गरेको छ । आश्रमका कार्यवाहक अध्यक्ष विनोद ढकालका अनुसार यस अवधिमा ४५ जनाको निधन भएको छ ।
जटिल बिरामी भएर अशक्त भएका बालबालिकादेखि वृद्ध वृद्धासम्म यहाँ ल्याउने गरिएको छ । चितवन मेडिकल कलेजले स्थापनादेखि नै सबै उपचार निःशुल्क गर्दै आएको छ ।
अध्यक्ष ढकालले भने, “सघन उपचार कक्षदेखि आवश्यक पर्ने शल्यक्रियालगायतका सबै उपचार कलेजले गर्ने गरेको छ ।” जटिल अवस्थामा भेटिएकालाई उपचार हुने भएकाले त्यही पठाउनेसमेत गरिएको छ । अहिले आश्रममा दुई जना बालबालिकासहित ४५ जना आश्रित छन् । दाताहरूको भरमा आश्रम सञ्चालित छ ।
महिनामा दुई चार दिनबाहेक अधिकांश दिनमा दाताहरूले जन्म, वैवाहिक वर्षगाँठ, मृत्यु, पूण्यतिथि, स्थापना दिवसलगायतका अवसरमा व्यक्ति र सङ्घसंस्थाले खाना खुवाउने गरेका छन् । कतिपयले लत्ताकपडा र अन्य सहयोग पनि गर्ने गरेको उनले जानकारी दिए ।
आश्रममा बिहान र बेलुका स्वास्थ्यकर्मी परीक्षण एवं नियमित औषधि खुवाउने गरेका छन् । त्यहाँ पाँच जना कर्मचारीले उनीहरूको सेवा गर्दै आएका छन् । आश्रममा नै रहेका तन्दुरुस्त र गर्न सक्नेहरूले काममा समेत सघाउने गरेका छन् । आश्रममा रहेका दुई बालकलाई स्थानीय निजी स्कुलमा पढाइएको छ ।
एक महिनामा रु तीन लाख हाराहारी खर्च हुने गरेको छ । यस वर्ष बागमती प्रदेश सरकारले केही सहयोग गरेको भन्दै उनले कहिलेकाहीँ वडा कार्यालयसमेतले सहयोग गर्ने गरेको छ ।
ठूलो खर्च दाता र चिनजानका सामाजिक व्यक्तित्व र आश्रम सञ्चालकले नै नियमित बेहोर्ने गरेका छन् । उनीहरूको स्वास्थ्य बिमा यसअघि बागमती प्रदेशले गरेकोमा अहिले नवीकरणको चरणमा रहेको छ ।








