भारतीय काँग्रेस नेता राहुलद्वारा प्रधानमन्त्री मोदीलाई यस्तो पत्रः

भारत, साउन २७ । केरलामा निरन्तरको मुसलधारे बर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेका छन् ।

दक्षिण भारतको उक्त इलाकामा पहिरो तथा डुबानमा परी यस महिना मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

बाढी तथा पहिरोका कारण केरलाका खासगरी नदी किनाराका वस्तीहरूमा ठूलो क्षति भएको र बाढी प्रभावित नागरिकको समस्यालाई तत्काल राहतको व्यवस्था हुनुपर्ने माग भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समस्याप्रति ध्यानाकर्षण गराएका छन् ।

शनिबार प्रधानमन्त्रीलाई लेखेको पत्रमा गान्धीले केन्द्र सरकारका प्रधानमन्त्री मोदीलाई पत्राचार गरेका हुन् । पत्रमा गान्धीले केन्द्रमार्फत केरला सरकारलाई राहत सहयोगका लागि प्रशस्त वजेटको प्रबन्ध गर्न आग्रह गरेका छन् ।

बाढीले केरलाका कैयौँ जिल्लाहरूमा मानवीय क्षति, पशु चौपायाको क्षतिका साथै नगदे तथा अन्य कृषि वालीलाई व्यापक प्रभावित बनाएको छ ।

विगत पाँशच दशककै सबैभन्दा ठूलो विपद केरला राज्यमा देखिएको र यसबाट ठुलो मानवीय तथा आर्थिक क्षति भएको उल्लेख पत्रमा नेता राहुलले जनाएका छन् ।

बाढीका कारण राज्यको माझी समुदाय सबैभन्दा बढी प्रभावित भएको पनि पत्रमा उल्लेख छ । अकी नामक आँधीका कारण उक्त क्षेत्रको माछापालनमा नराम्रो प्रभाव छोडेको र यो माछा किसानका लागि ठूलो धक्का भएको, नेता राहुलले प्रधानमन्त्रीलाई पठाएको पत्रमा बताएका छन् ।

केरलामा बाढी तथा पहिरो र डुबानका कारण नियमित विद्युत आपूर्तिमा समस्या भएको, सडकहरू भत्किएको र ठूलो मानवीय विपत आएको छ जसलाई पूरानो अवस्थामा ल्याउन निकै ठूलो बजेटको आवश्यक रहेको समेत पत्रमा उल्लेख छ ।

काँग्रेस अध्यक्षले केन्द्र सरकारले समस्याप्रति संवेदनशील बनी केरला सरकारसँग समन्वयका साथ अघि बढ्ने र यसबाट पीडितले राहतको महशुस गर्ने गरी बजेटको निकासा हुनेमा विश्वास व्यक्त गरेका छन् ।

केरला सरकारले शनिबार हालैको बर्षापछि बाढी, पहिरो तथा डुबानका कारण ज्यान गुमाएका मृतकका परिवारजनलाई चार लाख भारतीय रुपैँया बराबरको राहतको घोषणा गरेको छ ।

बाढीमा घर तथा व्यापक खेतीवाली गुमाएका नागरिकलाई प्रतिपरिवार १० लाख भारतीय रूपैँया दिने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *