बिमस्टेक शिखर सम्मेलनको तयारी तीब्र, नेपालमाथी ठुलो जिम्मेवारी

काठमाडौं, साउन २७ । आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको तयारी तीब्र पारिएको छ ।

विमस्टेक सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्डका सरकार तथा राष्ट्रप्रमुखसँगै उच्च अधिकारीको उपस्थिती हुनेछ । विश्व राजनीतिमा प्रभावकारी मानिएका सरकार तथा राष्ट्रप्रमुखहरू सम्मेलनमा आउन लागेकोले यसको सुरक्षित र प्रभावकारी व्यवस्थापनका लागि आयोजक राष्ट्रका हैसियतले नेपालमाथी ठुलो जिम्मेवारी छ ।

शिखर सम्मेलन मुल व्यवस्थापन समितीका संयोजक समेत रहनुभएका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सम्मेलनका तीन पक्षमा अन्तिम तयारी भैरहेको बताउछन् । व्यवस्थापन, सरसफाइ, सुरक्षा लगायतका सबै पक्ष चुस्त राख्नका लागि विभिन्न उपससिमती गठन भएको र सबैले अन्तिम तयारी गरिरहेको मन्त्री ज्ञवालीले  जानकारी दिए ।

सम्मेलनको तयारीका लागि शनिवार काठमाडौंमा सात वटै राष्ट्रका परराष्ट तथा विदेश सचिवहरुको बैठक बस्यो । बैठकले बिमस्टेक शिखर बैठक हुने स्थान, समय परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि एजेण्डा, मुल बैठकको एजेण्डाको प्रारम्भिक खाका, बैठकमा सहभागी हुने सदस्य राष्ट्रका प्रमुखहरुलाई दिईने रिट्रिटको स्थानलगायत व्यवस्थापकीय विषयमा निर्णय लिएको छ ।

बिमस्टेक सम्मेलनको पुर्व सन्ध्यामा अहिले काठमाडौंमा सरसफाइको काम तीब्र पारिएको छ । सात राष्ट्रका प्रमुखको उपस्थिती र आवतजावत हुने भएकाले पनि काठमाडौंका सडक मर्मत सम्भार कार्य भैरहेको छ ।

यस्तै प्रभावशाली व्यक्तिको उपस्थिती हुनेहुँदा सुरक्षाको प्रवन्ध मिलाउन पनि अहिले गृहमन्त्रालयले तयारी तीब्र पारेको छ । सुरक्षा निकायहरूसँग भएका साधनस्रोतसमेतलाई प्रयोग गर्नेगरी अपुग सवारी र जामर भारतबाट ल्याउने तयारी गरिएको छ ।

अर्थ देखि भौतिक पूर्वाधार र सुरक्षा व्यवस्थासम्मको तयारीका लागि सम्बन्धित मन्त्रालयमा विशेष समिती नै बनाइएको छ । सबैलाई भदौ १० गतेभित्र सम्पुर्ण तयारी सक्न निर्देशन भइसकेको छ ।

सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यानमारकी राज्य परिषदकी प्रमुख आङसाङ सूची, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा नेपाल आउने निश्चित भएको छ ।

सम्मेलन तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजत्वमा आयोजक समिति गठन भएको छ । सम्मेलन पूर्व भदौ १२ गते उच्चअधिकारी स्तरीय बैठक तथा १३ गते परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्ने छ ।

परराष्ट्रमन्त्री स्तरीय बैठकले सम्मेलनका एजेण्डाहरुलाई अन्तिम रुप दिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *