डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएमा ५० हजार जरिवानासहित ५ वर्ष जेल

“
काठमाडौँ, साउन २५ । डाक्टरको लापरवाहिले विरामीको उपचारका क्रममा मृत्यु भएमा डाक्टरलाई ५ वर्षको जेल सजाय हुने भएको छ ।
भदौ १ देखि लागु हुने नयाँ मुलुकी अपराध (संहिता) ऐन २०७४ अन्तर्गत विरामीको जीवनमा खेलबाड गर्ने डाक्टरहरुलाई ३० हजार जरिवानासहित ३ वर्ष जेल सजाय हुने भएको हो ।
यदि लापरवाहीपूर्ण कारणबाट ज्यान गएमा वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ भने हेलचेक्र्याइँबाट मृत्यु वा अंगभंग भएमा भने ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।
उक्त ऐनको इलाजसम्बन्धी कसुरको दफा २३२ मा लापरवाही वा हेलचेक्र्याइ गरी इलाज गर्न नहुने उल्लेख गरिएको छ । त्यसमा भनिएको छ । ‘कानुनबमोजिम इलाज (उपचार) गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरवाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्नु हुँदैन ।’
हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा भने डाक्टरले उपचारमा लापरवाही गरेमा २ वर्षसम्म कैद वा ५ सय जरिवानाको व्यवस्था थियो ।
त्यस्तै बदनियतपूर्वक उपचार गर्दा मृत्यु भए जन्मकैदको सजाय हुने भएको छ । एक अंगको शल्यक्रिया गर्नुपर्नेमा अर्को अंगको गर्दा बिरामीको ज्यान जान सक्छ । डाक्टरको यस्तो लापरवाहिले बिरामीको मृत्यु भएमा भने जन्मकैदसम्म हुन सक्ने व्यवस्था मुलुकी अपराध संहितामा उल्लेख गरिएको छ । अंगभंग भएमा भने १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ ।
“








