धरानमा निर्माणाधीन बिग बुद्धका लागि अर्थ समिति गठन

काठमाडाैं, साउन २५ । सुनसरीको धरानमा निर्माणाधीन बिग बुद्ध निर्माणका लागि अर्थ समिति गठन गरिएको छ । जनस्तरबाट निर्माणको घोषणा भएको धरान वडा नम्बर ४ मा निर्माण हुने नेपाली राष्ट्रिय गौरवको आयोजना सूर्योदय बुद्ध विहार थाउजेण्ड्स बिग बुद्धको सहयोगका लागि धर्मोदय सभाका उपाध्यक्ष सुचित्रमान शाक्यको संयोजकत्वमा ३ सदस्यीय अर्थ समिति गठन भएको छ ।

उक्त समितिको सह–संयोजकमा धरान सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ रहेका छन् । समितिको सदस्य सचिवमा नाट्य क्षेत्रमा सकृय राजेन्द्र रिमाल चयन भएका छन् । समितिलाई आवश्यकता अनुसार विस्तार गरी आगामी बैठकबाट अनुमोदन गर्ने समेत निर्णय गरिएको समितिका सदस्य सचिब राजेन्द्र रिमालले बताए ।

बैठकमा सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद माननीय जयकुमार राई, पूर्व मेयर ध्यान बहादुर राई, धरान हङकङ मञ्चका पूर्व अध्यक्ष तथा अर्थ संकलन समिति हङकङका संयोजक प्रेम सुब्बा लगायतको उपस्थिति रहेको थियो ।  थाउजेण्ड्स बिग बुद्ध निर्माणका लागि जिल्ला वन कार्यालयले उक्त क्षेत्रको जग्गालाई धार्मिक वनका रुपमा निर्माण समितिलाई दिइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापाको दमकमा बृहत बुद्ध परियोजना सञ्चालन गर्ने भएपछि सुनसरीको धरानमा निर्माण हुने थाउजेण्ड्स बिग बुद्ध विहारका लागि सरकारी सहयोग नपाउने देखिएपछि निर्माण समितिले जनस्तरबाटै परियोजना सम्पन्न गर्ने लक्ष लिएको छ । ‘

प्रधानमन्त्रीको गृहजिल्ला झापामा बुद्धलाई नै लिएर ठूलो परियोजना सञ्चालन गर्ने सरकारको तयारीले हामीलाई सहयोग आउँछ भन्ने अवस्था नरहेकोले जनस्तरबाटै यो परियोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।’ अर्थ समितिका सदस्य सचिब राजेन्द्र रिमालले बताए । ‘ थाउजेण्ड्स बिग बुद्ध विहार निर्माणका लागि अन्तराष्ट्रिय रुपमा बौद्ध धर्मावलम्बी देशहरु र प्रवासी नेपालीबाट सहयोग जुट्नेमा आशावादी छौं ।’ उनले भने । थाउजेण्ड्स बिग बुद्ध शिलान्यास समारोहमा थाइलेण्डका राजगुरु समेतको उपस्थिति रहेको थियो । उनले त्यसबेला नै थाउजेण्ड्स बिग बुद्ध विहार निर्माणका लागि विशेष सहयोग गर्ने आश्वासन दिएका थिए ।

आयोजनाको करीब १ अर्ब ५० करोड लागत अनुमान गरिएको छ । हाल उक्त स्थानमा ध्यान शिविर सञ्चालन गर्नका लागि एउटा हल निर्माण गरिएको छ । थाउजेण्ड्स बिग बुद्ध निर्माण भइसकेपछि पूर्वको धार्मिक पर्यटन प्रर्वद्धनमा ठूलो सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *