डढेलो नियन्त्रणको बाधक वातावरणीय कानून भएकाे अमेरिकी राष्ट्रपतिकाे भनार्इ

काठमाडौं, २३ साउन । खराव वातावरणीय कानूनका कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।

क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगो नियन्त्रण बाहिर गइरहेका बेला ट्रम्पले नियन्त्रणमा कानून वाधक रहेको बताएका हुन् । कानूनले उपलब्ध पानीलाई उचित ढङ्गले उपयोग गर्न अनुमति नदिएपछि राज्य नै डढेलोका कारण आक्रान्त बनेको ट्रम्पको जिकिर छ ।

‘क्यालिफोर्नियाको डढेलो दिनप्रतिदिन फैलिएको छ र यसले राज्यका जनतामा नराम्रो प्रभाव परेको छ’, ट्रम्पले एक ट्वीट गर्दै भनेका छन्, ‘तर यस अवस्थामा पनि उपलब्ध पानीलाई यथोचित रूपमा उपयोग गर्न वातावरण कानून समस्या भएको छ ।’

क्यालिफोर्नियाको पानी प्रशान्त महासागरतर्फ लगिएकोले आगो निभाउन पानीको अभाव भएको उनको दावी छ । ‘आगो नियन्त्रणका लागि रूखहरू फाँड्न जरूरी छ तर वातावरण कानूनले यसलाई रोक्छ।’ राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेखेका छन् ।

क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पानीको वहावलाई उत्तरबाट स्वतन्त्र बग्न दिनुपर्नेमा ‘मूखर्तापूर्ण तरिकाले प्रशान्त महासागरतर्फ लगेको’ भन्दै ट्रम्पले असन्तुष्टि पोखेका छन् । ‘प्रशस्त पानीसहितको क्यालिफोर्नियाको कल्पना गरौँ त यो पक्कै पनि राम्रो हुनेछ । संघीय सरकारले छिट्टै स्वीकृति दिनु पर्छ।, ट्रम्पले ट्वीटर सन्देशमा उल्लेख गरेका छन् ।

क्यालिफोर्नियामा विनासकारी डढेलोले राज्यमा वितण्डा मच्चाएको छ । यसका कारण राज्यकै इतिहासमा दोस्रो ठूलो क्षति पुर्याएको बताइएको छ ।

विभिन्न १७ स्थानमा फैलिएको डढेलोे नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकले अनवरत काम खटिरहेको भएपनि एक हप्ता पहिलेदेखि शुरु भएको आगो अझै तातो, सुख्खा तथा तुफानी रूपमा फैलिइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

समाचार अनुसार यो नियन्त्रणमा आउन अझै १ महिना लाग्न सक्छ । क्यालिफोर्नियाका अधिकारीहरुले यसलाई इतिहासकै भयानक डढेलो भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *