पहिरोले हेटौँडा–कुलेखानी यातायात अवरुद्ध, यात्रु अलपत्र

हेटौँडा, साउन २२ । हिजो रातिदेखि परेको अबिरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फाखेलस्थित महालक्ष्मी डाँडामा आइरहेको पहिरो बिहानैदेखि हटाउने काम भइरहेको र हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा सञ्चालनका लागि प्रयास भइरहेको मकवानपुरका प्रजिअ आसमान तामाङले जानकारी दिए ।

यसैगरी सिस्नेरी प्रहरी चौकीका अनुसार इन्द्रसरोवर गाउँपालिका–३ मदन भण्डारी राजपथअन्तर्गत पर्ने सिस्नेरी डाँडामा गएराति पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा पनि अवरुद्ध भएको छ ।

सिस्नेरी डाँडामा गएको पहिरोलाई आज साँझसम्म हटाई हेटौँडा–काठमाडौँतर्फ यातायात सञ्चालन गर्न काम भइरहेको जनाइएको छ । सडक अबरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौैँडा आइरहेका सुमो, जीप, कार, मोटरसाइकलमा सवार यात्रु बिहानैदेखि अलपत्र अलपत्र छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *