नेपाल–भारत व्यापार समस्या तत्काल समाधान गर्छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन्।

हालसम देखिएका व्यापारका असमझदारीहरू हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउने लागिएको प्रधानमन्त्री ओलीले जानकारी दिए।

उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवटारमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीले बताए।

‘विमस्टेकमा आउनुभएका राष्ट्रप्रमुखसँग सामूहिक रूपमा र व्यक्तिगत रूपमा पनि हाम्रा व्यापारका समस्या समधानका लागि हामी कुरा गर्छौं।’

प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिले नेपालको परिचय बदल्नु पर्ने बताएका छन्।

‘नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा,गरिब नेपालबाट सम्पन्न नेपालमा,पछौटेपनबाट आधुनिक नेपालमा,बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपालको पुरानो परिचय बदल्नका लागि उद्यमी व्यवायीले योजना ल्याउन त्यसमा सरकारको साथ सहयोग हुन्छ।’

प्रधानमन्त्री ओलीले नेपालीहरूमा उपभोक्तावादी चिन्तन बढेको बताएका छन्।

‘विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन पनि नेपालीले लगाएकै छन्। अत्याधुनिक खाना पनि खाएकै छन्’, प्रधानमन्त्री ओलीले भने, ‘तर आफ्नोमा त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्नेतिर हाम्रो ध्यान छैन। व्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै हो।’

अहिलेको सरकार स्थिर भन्नाले गतिहीन नभएको प्रधानमन्त्रीको तर्क छ। देशलाई स्थिरता चाहिएको छ। जनताले स्थिरताको अपेक्षा गरेको तर अगाडि नै नबढ्ने एकै ठाउँमा अडिरहने सरकार नचाहेको प्रधानमन्त्रीको भनाइ छ।

‘जनताले स्थिरताका लागि पनि गतिशिल सरकारको अपेक्षा गरेका थियो। त्यो पुरा भएको छ । अब यो सरकाले तिनै जनताको अपेक्षा बमोजिमका काम गर्छ’, उनले भने।

उद्योगको स्थापना र सञ्चालनका लागि सरकारले जे जति सहुलियत दिन सकिन्छ त्यसमा सरकारले कञ्जुस्याईं नगर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरे।

सरकारले दोहोरो तेहोरो कर नलिने प्रधानमन्त्रीको दाबी छ। व्यवसायीहरूले कर वृद्धिको विषयमा गुनासो गरेपछि प्रधानमन्त्रीले त्यस विषयमा आफूले थप जानकारी लिने तर दोहोरो करको व्यवस्था चाहिँ हटाइने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *