२५ लाख धरौटीमा छुटे नक्कली नोटमा फसेका फिल्म निर्माता वाग्ले

“
काठमाडौँ, साउन १८ । चलचित्र लुटका निर्माता माधव वाग्ले धरौटीमा रिहा भएका छन् ।
नक्कली नोट कारोबारमा फसेका वाग्ले २५ लाख धरौटीमा रिहा भएका हुन् । जिल्ला अदालत काठमाडौंले नक्कली नोटको कारोबार गरेको आरोपमा गत जेठ ३० गते पूर्पक्षको लागि थुनामा पठाएको थियो ।
उच्च अदालत पाटनको आदेशअनुसार उनले २५ लाख धरौटी बुझाएका हुन्।
तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहित विरुद्ध नक्कली नोटको कारोबारमा ‘खोटा चलन’ मा मुद्दा दर्ता भएको थियो।
निर्माता वाग्लेको कोठामा १ हजार दरका २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो । जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो।
६ जना मध्येकै एक २४ वर्षीय महेन्द्र बोगटीले काठमाडौं महानगरपालिका २६ मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा बिल तिर्दा दिएको नक्कली नोटले नै बाँकीको पहिचान भएको थियो ।
“








