पहिलो एक दिवसीय खेल नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं, साउन १६ । नेपालले आफ्नो पहिलो एक दिवसीय खेलआज नेदरल्यान्ड्ससँग खेल्दैछ । अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको २२ वर्षपछि नेपाली क्रिकेटले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को मान्यतामा आफ्नो पहिलो एक दिवसीय खेल खेल्न लागेको हो ।

आजको खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपालले गत मार्च महिनामा जिम्बाब्वेमा भएको छनोट प्रतियोगितामार्फत पहिलोपटक एक दिवसीय टोलीको मान्यता पाएको थियो । नेदरल्यान्ड्ससँग नेपालले आफ्नो पहिलो एक दिवसीय शृङ्खला खेल्न लागेको हो ।

त्यसका लागि नेपाली टोली हिजो नेदरल्यान्ड्स पुगिसकेको छ । घरेलु टोलीविरुद्ध दुई एक दिवसीय शृङ्खला खेल्ने तय भएको नेपालले दोस्रो एक दिवसीय भने भोलि खेल्नेछ । लन्डनको मेरिलेवन क्रिकेट क्लब (एमसीसी)मा नेदरल्यान्ड्ससमेत सहभागी भएको त्रिकोणात्मक शृङ्खला खेलेर आफ्नो पहिलो एक दिवसीय शृङ्खला लागि त्यहाँ पुगेको नेपालले सुखद सुरुआतको योजना बनाएको छ ।

नेपालले लर्डस्मा एमसीसीविरुद्ध ६ ओभरको खेल खेलेको थियो । आईसीसीबाट टीट्वेन्टी खेलको मान्यतासमेत पाएको नेपालको नेदरल्यान्ड्स विरुद्धको खेल भने वर्षाका कारण अवरुद्ध भएको थियो । त्यसअघि नेपालले लन्डनमा त्यहाँका स्थानीय क्लबसँग केही अभ्यास खेलसमेत खेलिसकेको छ ।

एक दिवसीयशृङ्खला आफूहरूका लागि निकै महत्वपूर्ण भएको नेपाली टोलीका कप्तान पारस खड्काले बताएका छन् । विगतमा ५० ओभरको क्रिकेटमा एकअर्काबीच भएको प्रतिस्पर्धाको नतिजाले भने नेदरल्यान्ड्सबलियो देखिएको छ । ५० ओभरको क्रिकेटमा नेपालले यसअघि नेदरल्यान्ड्ससँग पाँच खेल खेल्दा दुई खेलमा जित हात पारेको छ भने तीन खेलमा पराजय बेहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *