‘वाइड बडी’ जहाज अन्नपूर्णले आजदेखि उडान भर्दै, पहिलो उडान दोहामा

काठमाडौं, साउन १६ । नेपाल वायु सेवा निगमले आफ्नो पहिलो वाइड बडी जहाज ‘अन्नपूर्ण’को व्यावसायिक उडान आजबाट गर्दैछ ।

अस्ति नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेपछि निगमले पूर्व निर्धारित समयमै उडान गर्न लागेको हो । निगमका अनुसार पहिलो उडान कतारको राजधानी दोहामा हुनेछ ।

आजराति ८ बजे आफ्नो नियमित तालिका अनुसार नै वाइड बडी जहाजले दोहाका लागि उडान भर्ने निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । निगमले काठमाडौँदेखि दोहासम्मको एकतर्फी भाडा न्यूनतम ११ हजार रुपैयाँ निर्धारण गरेको छ ।

काठमाडौँ–दोहा–काठमाडौँको दोहोरो भाडा न्यूनतम १८ हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ । दोहादेखि काठमाडौँसम्मको उडानमा निगमले बिजनेस स्तरका यात्रुलाई ५५ किलोग्राम र इकोनोमी टिकटसहितका यात्रुलाई ४५ किलोग्राम ब्यागेज निःशुल्क लिन पाउने सुविधा उपलब्ध गराएको छ । जहाजमा २७५ सिट छन् । यसमध्ये १८ वटा सिट बिजनेस स्तरका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *