नेपाली कामदार ठगीको विषयमा मलेसियाका मन्त्री चिन्तित !

काठमाडौँ, साउन १५ । आगामी शुक्रबार बस्ने मलेसियाको मन्त्री परिषद्को संसद बैठकमा नेपाली कामदारको विषयमा छलफल हुने भएको छ । मंगलबार मलेसियाका मानव संशाधन मन्त्री एवम् कुला सेगरनले यस विषयमा आगामी बैठकमा कुरा उठाउने बताएका छन् ।

गत जेठ २ गतेदेखि मलेसियामा नेपाली कामदार पठाउन बन्द गरिएको छ । जेठ २ गते पहिले नै भिसा लागिसकेका कामदार मात्रै अहिले जान पाइरहेका छन् ।

मलेसियाका सञ्चार माध्यमका अनुसार नेपाली कामदार मलेसिया जाने क्रममा ठगिएको र उच्च तहकै संलग्नता रहेको विषयमा निर्णय गर्न मन्त्री परिषद्मा छलफल हुने भएको हो । यसअघि पनि त्यहाँका सत्तारुढ दलका संसदले छानविन गर्न सरकासँग माग गर्दै आएका थिए ।

मलेसियाका मानव संसाधन मन्त्री नेपाली कामदार रोकिएको विषयमा चिन्तित देखिएका छन् । मन्त्रालयमै नेपाली दूतावासका कर्मचारीलाई बोलाएर छलफल गरेका छन् भने दूतावासमा पुगेर समेत यस विषयमा चासो देखाएका थिए ।

तर नेपालीलाई ठग्ने कार्यमा मलेसियाको पहिलेको सरकारका गृह मन्त्री र उच्च कर्मचारीको समेत संलग्नता रहेको अनुमान गरिएको छ । पूर्व गृहमन्त्री हामिदिले भने आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।

नेपालले भने यो विषयको किनारा नलागेसम्म मलेसियामा नेपाली कामदार नपठाउने अडान कायम नै राखेको छ । मलेसियाले भने नेपाली कामदार नरोक्न र पठाउने विभिन्न विकल्पका विषयमा छलफल गर्न नेपाललाई आग्रह गरेको छ । मन्त्री सेगरनले समेत आफू नेपाल आउन तयार रहेको भन्दै ट्वीटर मार्फत सार्वजनिक गरेका थिए ।

नेपालीको पहिलो रोजाईमा परेको मलेसिया बन्द हुँदा विदेशिने नेपालीको संख्यामा समेत कमि आएको छ भने, मलेसियामा समेत आफ्नो रोजाईका कामदार नपाउँदा चिन्ता थपिएको छ । त्यहाँका रोजगार दाताले नेपाली कामदार मन पराउँछन् । रोजगार दाताले समेत नेपाली कामदारको समस्या छिट्टै सल्टाउन दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *