मूल्यवृद्धिप्रति काँग्रेसको विरोध, सरकारविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

काठमाडौँ, साउन १४ । नेपाली काँग्रेस चितवनले शक्ति प्रदर्शन गर्ने भएको छ । सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस चितवनले विरोधस्वरुप जिल्लामा शक्ति प्रदर्शन गर्ने भएको हो ।

दैनिक उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई मुल एजेण्डा बनाएर काँग्रेसले सरकारलाई दबाब दिन देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको पत्रकार सम्मेलनमा जनाएको हो । मंगलबार दिउँसो १२ बजेदेखी विरोध प्रदर्शन सुरु हुने काँग्रेसले जनाएको छ ।

सम्मेलनमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस चितवन गणितीय हिसाबले पराजित भएपछि चितवनमा एक नम्बरको पार्टी भएको प्रमाणित गर्न विरोध प्रदर्शनलाई शक्ति प्रदर्शनको रुपमा लैजान लागिएको काँग्रेस सभापति जीतनारायण श्रेष्ठले बताए ।

उनले कम्युनिष्ट सरकारले गरेका गैर संवैधानिक कार्यहरु र मौलिक हकको हननप्रति नेपाली काँग्रेसको गम्भिर ध्यानाकर्षण भएको भन्दै त्यसैको विरोधमा कार्यक्रम गर्न आन्दोलन गर्नु परेको बताए ।

विरोध र्याली भरतपुरको चौविसकोठी चोकबाट सुरु भएर नारायणगढको पुलचोकमा पुगी कोणसभामा परिणत हुने पत्रकार सम्मेलनमा जनाइएको छ ।

काँग्रेसले संविधानले निर्दिष्टि गरेअनुसार सभामुख र उपसभामुख छुट्टा छुट्टै पार्टीबाट हुनुपर्ने व्यवस्थालाई अविलम्ब कार्यान्वयन गराइनुपर्ने, बालकृष्ण ढुंगेललाई आममाफी फिर्ता गराई कानुनी राज्यको प्रत्याभुति दिलाउनुपर्ने, हालै सरकारले अवैधानिक ढंगबाट लागु गरेका करहरु खारेज हुनुपर्ने, स्वतन्त्र मिडियामाथिको हस्तक्षेप बन्द हुनुपर्ने, पेट्रोलियम पदार्थलगायतका जनताका दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि घटाउनुपर्ने, साउन ९ गते चितवनमा तीन पाँग्रे सवारी चालक मजदुरमाथि भएको प्रहरी दमन एवंम गोली काण्डको विरोध गर्दै यस्ता समस्याहरुको वार्ताद्धारा समस्या समाधान गराउनु पर्ने लगायतका माग कांग्रेसले अघि सारेको हो ।

त्यस्तै नेपाली काँग्रेस चितवनले भरतपुरमा अवस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कुनै हालतमा पनि सिटी हल निर्माण गर्न नदिने चेतावनी दिएको छ ।

अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा सिटी हल निर्माण गर्ने निर्णय नेपाली काँग्रेसलाई कुनै पनि हालतमा सह्य नहुने भन्दै अस्पतालको जग्गामा सिटी हल निर्माण गर्ने भरतपुर महानगरपालिकाको निर्णय कार्यान्वयन गर्न नदिने चेतावनी दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *