दरबारमार्ग प्रहरी बृत्तका प्रमुख डिएसपी मल्ल सहित १२ प्रहरी पुरस्कृत

साउन ९, काठमाडौं । उत्कृष्ट कार्य गरेको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्ल र कमलपोखरी वृत्तका प्रमुख डिएसपी कुलदीप चन्दलाई पुरस्कृत गरिएको छ । काठमाडौं प्रहरीले डिएसपीद्वय सहित अन्य १० प्रहरीलाई पुरस्कृत गरेको हो ।

बुधबार परिसर काठमाडौंमा एक कार्यक्रम गरी पुरस्कार वितरण गरिएको छ ।

पुरस्कृत दरबारमार्ग प्रहरी प्रमुख समेत रहेका डिएसपी दानबहादुर मल्लले दरबारमार्ग क्षेत्रमा सञ्चालित रात्रिकालिन ब्यवसायलाई मर्यादित बनाउन ठूलो भूमिका निर्वाह गरेका थिए ।

खासगरी शुक्रबार र शनिबारका दिन दरबारमार्ग क्षेत्रमा सञ्चालित रात्रिकालिन ब्यवसायमा हुुने गतिविधि अमर्यादित हुने गरेको थियो भने, रेष्टुरेन्ट, डिस्कोमा काम गर्ने युवतिहरुका विषयलाई लिएर दिनहुँ झैझगडा समेत हुने गरेको थियो । सो क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न र ब्यवसायीलाई मर्यादित रुपमा ब्यवसाय गर्न मल्लले प्रोत्साहन गरेका थिए ।

कमलपोखरी बृत्तका प्रमुख डिएसपी कूलदीप चन्दलाई पनि सो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र जनताका काम कारवाही चुस्तदुरस्त गर्नमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको हो ।

पछिल्लो समय नेपाल प्रहरीमा आ–आफ्ना क्षेत्रमा उत्कृष्ठ काम गर्ने प्रहरीलाई प्रोत्साहन गर्नका लागि हरेक महिना उनीहरुको कामको मुल्यांकन गर्दै पुरस्कृत गर्ने गरिएको छ ।

असार महिनामा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक केशव भट्ट र प्रहरी प्रभाग फर्पिङका प्रहरी निरीक्षक विष्णु सोतीलाई समेत पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुने अन्य प्रहरीहरुमा सई विजय भण्डारी, श्याममणि पोखरेल, असई पदम थापा, महिला सेलकी निर्मला ओझा, प्रहरी हवल्दार लालबहादुर तामाङ, बलबहादुर सैजवाल, प्रहरी जवान तुलसीराम भट्टराई र सविन थापा रहेका छन् ।

उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रहरी परिसर काठमाडौंले १० हजारदेखि ५० हजारसम्म पुरस्कार स्वरुप रकम प्रदान गर्दै आएको छ । प्रहरी परिसर काठमाडौं र नेपाल बङ्गलादेश बैंकले संयुक्त रूपमा पुरस्कार प्रदान गर्दै आइरहेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले राम्रो काम गर्ने प्रहरीको मनोबल बढाउन पुरस्कारको व्यवस्था गरेका हुन् । प्रहरीलाई पुरस्कार दिँदा लाग्ने रकम नेपाल बङ्गलादेश बैंकले प्रदान गर्दै आएको छ । बैंकले एक वर्षसम्म सो रकम दिने छ ।

प्रत्येक महिनामा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई वितरण हुने पुरस्कार प्रदान गर्न परिसरमा छुट्टै समिति बनाइएको छ । प्रहरीले १ महिना अवधिमा आफुले गरेको कार्यसम्पादनको मुल्याङन गरेर पुरस्कारका लागि सिफारिस गर्ने गर्दछ ।

महिनाभरि गरेका काम फारम भरेर समितिमा बुझाएपछि समितिले अनुसन्धान गरेर जसले धेरै काम गरेको छ, त्यसैलाई पुरस्कार प्रदान गर्न प्रहरी परिसर काठमाडौंलाई सिफारिस गर्छ ।

काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाउन र काम गर्ने प्रहरी कर्मचारीको मनोबल बढाउनका लागि उक्त पुरस्कारको व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =