प्रचण्डको प्रश्नः नेपाली कांग्रेसले आफ्नो राजनीति गोविन्द केसीमार्फत गर्न पर्ने ठाउँमा पुगिसकेको हो ?

काठमाडौं, साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक रुपमा नेपाली कांग्रेसको अस्तित्व सकिएको भन्दै चर्को आलोचना गरेका छन् ।

डाक्टर गोविन्द केसीको जीवन रक्षाप्रति सरकार संवेदनशील भैरहेकै समयमा कांग्रेसले अवरोध पुर्याएको भन्दै दाहालले कांग्रेसप्रति आक्रोश व्यक्त गरेका छन् । डाक्टर केसीको मागलाई अनावश्यक रुपमा राजनीतिक रंग दिएर कांग्रेसले गल्ती गरेको टिप्पणीसमेत गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसर पारेर सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले डाक्टर गोविन्द केसीको एजेण्डा बोकेर हिँडेको कांग्रेस इतिहासमा सीमित हुने दाबी गरे।

प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न बहानामा सरकारलाई बदनाम गर्ने प्रयत्न गरेको दृष्टान्त दिँदै उनले कांग्रेस आफ्नै क्रियाकलापका कारण राजनीतिक रुपमा समाप्त हुने बताए ।

उनले भने, ‘नेपाली कांग्रेसले खोजेको चाहिँ के हो ? नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र डाक्टर केसीको पुच्छर समातेर हरण गर्न खोजेको हो ? नेपाली कांग्रेसले आफ्नो राजनीति गोविन्द केसीमार्फत गर्न पर्ने ठाउँमा पुगिसकेको हो ? कांग्रेस यति निम्छरो, यति कमजोर, यति एजेण्डाविहीन, यति अलोकतान्त्रिक भइसकेको हो ?’

प्रचण्डले आफ्नो कुनै एजेण्डा नभएपछि कांग्रेस गोविन्द केसीको माग पूरा गर भन्दै तोडफोडमा उत्रिएको दाबी गरे । उनले भने, ‘मेरो दृष्टिमा कांग्रेस अब सिद्धियो । अब कांग्रेसको अवसानको बाटो हो, कांंग्रेसको यही बुद्धि, यही तरिका हो भने कांग्रेस अब इतिहासको विषय बन्न धेरै दिन लाग्दैन ।’

लोकतन्त्रवादी भन्ने सरकारको समयमा डाक्टर गोविन्द केसी सबैभन्दा बढी अनसन बसेको उल्लेख गर्दै उनले तात्कालीन समयमा किन माग सम्बोधन नगरेको भन्दै प्रश्न गरे । उनले भने, ‘डाक्टर गोविन्द केसी अनसन बस्नुहुन्छ । यो नेपाली समाजले पचाइसकेको छ । उहाँको कामै अनसन बस्ने हो । उहाँ बसिरहनुहुन्छ ।’

अध्यक्ष दाहालले कांग्रेसले डाक्टर केसीको जीवनरक्षामा भन्दा लासमाथि राजनीति गर्न खोजेको आरोप लगाए। उनले भने, ‘उहाँको जीवनरक्षा गर्ने दायित्व सरकारको हो, तर अर्को पक्ष उहाँको जीवनरक्षा प्रति गम्भीर छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहन्छ र लासको राजनीति गर्न चाहेको हो कि भन्ने प्रश्न गम्भीर रुपले खडा भएको छ ।’

अध्यक्ष दाहालले सरकार अब दश गुणा शक्तिका साथ अघि बढ्ने भन्दै त्यसको तागत हेर्न चेतावनी दिए । उनले भने, ‘हेर्नुहोला १० गुणा शक्तिको साथ हामी पनि अघि आउँछौ, हामी एकताको प्रारम्भिक चरणमा छौँ, हामीले अभियान चलाउन सिंगै बाँकी नै छ । हामी तल जाँदैछौ । हामी नागरिकमा जाँदैछौं । हेर्नुहोला । त्यसबाट के निस्कन्छ ? यो के तागत हो भन्ने कुरा ।’

विगतमा कम्युनिष्ट गठबन्धनविरुद्ध एकजुट भएको शक्ति नै अहिले वर्तमान सरकारलाई बदनाम गर्ने नियोजित कसरतमा लागेको उनको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *