विद्यार्थी बाेकेकाे स्कुल बस भक्तपुमा दुर्घटना, ६५ विद्यार्थी घाइते

भक्तपुर, साउन ४ । काठमाडौँको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा. २ क. ९२५० नं को स्कूल बस विहीबार अपराह्न ५ बजेतिर मध्यपुरथिमि ९ नीलबाराही शसस्त्र प्रहरी बल नजिकै दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते भएका छन् ।

दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र २४ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये बसका सहचालक २८ वर्षीया अनिल थापाको नागरिक अस्पतालमा उपचार हुन नसके पछि बाँसबारी स्थित न्यूरो अस्पतालमा रिफर गरिएको छ भने थापाको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

अर्का गम्भीर घाइते ४ वर्षीया प्रतिज्ञा श्रेष्ठलाई काठमाडौं मेडिकल कलेज रिफर गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए । अन्यको मध्यपुर अस्पताल र नागरिक अस्पतालमा उपचार भैरहेको छ ।

साइड दिने क्रममा बस पछाडि हटाउँदा अनियन्त्रीत भई सडकबाट तल खसेको थियो । घटना हुने वित्तिकै सशस्त्र प्रहरी बल नेपाल गुहेश्वरी गण दुवाकोटको टोलीले विद्यार्थीलाई अस्पताल पुर्याएको थियो ।

बसका चालक सन्तोष लामा भने फरार रहेकाले खोजी भैरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिए । विद्यालयकी प्रिन्सिपल लालिमा मालाकारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विद्यालयले व्यहोर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *