आठ दिनमै १३ जनालाई स्क्रब टाइफस

किशोर खनाल,भरतपुर । चितवनमा आठ दिनमै १३ जनालाई स्क्रब टाइफस देखिएको छ । साउन १ देखि ८ गते आइबारसम्म चितवनका विभिन्न अस्पतालको रिपोर्टअनुसार १३ जनालाई स्क्रब टाइफस देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको छ ।
‘आठ दिनमै १३ जनालाई स्क्रब टाइफस देखिएको प्रमाणित भएको छ’ जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख विजयकुमार झाले भने, ‘थारै दिनमै १३ जनामा स्क्रब टाइफस देखिनु ज्यादै डरलाग्दो हो, यो संख्या व्यापक हो ।’ उनले यसअघि यति धेरैको संख्यामा स्क्रब टाइफस नदेखिएको बताए ।
चितवनमा २०७४ सालको वैशाख र जेठ महिनामा २÷२ जना, असारमा ५ जनामा स्क्रब टाइफस देखिएको थियो । साउन महिनालागे यता १३ जनामा स्क्रब टाइफस देखिनुले ज्यादै खतराको संकेत गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
‘साउन महिनामा ५४ जना बिरामीमा स्क्रब टाइफस परीक्षण गर्दा १३ जनामा पोजेटिभ भेटिएको हो’ जनस्वास्थ्य कार्यालयका भेन्टर कन्ट्रोल निरीक्षक राम केसीले भने । उनका अनुसार भरतपुर अस्पतालमा ८ जना, नारायणी सामुदायिकमा ४ जना र बकुलहर अस्पतालमा १ जना बिरामीमा स्क्रब टाइफस भेटिएको हो ।
टाउको दुख्ने, ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने स्क्रब टाइफसको प्रमुख लक्षण हुन् । यो रोग अघिल्लो वर्षदेखि देखिन थालेको हो । नेपालमा सबैभन्दा पहिला यो रोग उत्पादन चितवन जिल्लामै देखिएको हो ।
स्क्रब टाइफस माइट नामको किर्नाले टोकेमा लाग्छ । यो जुम्राजस्तै सूक्ष्म हुन्छ । यो प्रायः मुसाको कानमा बस्छ । बढी मात्रामा जंगलको घाँसमा यो किर्ना पाइन्छ ।
‘वर्खाको सिजनमा स्क्रब टाइफसको प्रकोप बढी हुन्छ । मानिसहरु यो बेला घाँस काट्न जंगलतर्फ जान्छन्, जंगलको घाँसमा स्क्रब टाइफसको किर्ना बसेको हुन्छ, तिनले मान्छेलाई टोक्दा स्क्रब टाइफस लाग्छ’ जनस्वास्थ्य प्रमुख झाले भने, ‘यसले लार्भा अवस्थामा मानिसको रगत बढी चुस्छ ।’
‘कीटको अभाव कायमै छ’
चितवनमा स्क्रब टाइफस परीक्षण गर्न कीटको अभाव भएको छ । ‘हामीसँग पर्याप्त कीट छैन, एकदम सीमित मात्रामा छ’ जनस्वास्थ्य प्रमुख विजयकुमार झाले भने, आफ्नै स्रोतले किनेको १९६ वटा कीट अस्पतालहरुलाई उपलव्ध गराएका छौँ ।’
उनले पछिल्लो समय स्क्रबटाइफसको परीक्षण गर्न प्रयोग हुने कीट भरतपुर अस्पतालामा १५० वटा र बाँकी बकुलहर अस्पतालमा कीट उपलव्ध गराएको बताए । ‘हामीले स्वयम् अस्पतालहरुलाई नै कीट किनेर राख्न भनेका छौँ’ उनले भने, ‘हामीसँग स्क्रब टाइफसको कीट स्टक छैन ।’
जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीको अनुसार कीट माग गर्दै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पत्र पठाएको जानकारी दिए ।

चितवनमा तीन रोग खतरा
चितवनमा तीन रोगको बढी खतरा छ । पहिलो डेंगु, दोस्रो स्क्रबटाइफस र पछिल्लो समय चिकेनगुनियाको पनि खतरा बढेको छ । डेंगु र चिकेनगुनिया लामखुट्टेबाट सर्छ । यसको भाइरस मार्न सकिदैन ।
चितवनमा चिकेनगुनिया हालसम्म तीन जनामा देखिएको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । उनले भने, ‘चिकेनगुनिया र डेंगु सार्ने लामखुट्टे एकै खालका हुन् ।’ यसको नियन्त्रण भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।
चिकेनगुनिया भएपछि डेंगुकै लक्षण ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने, जोर्नीहरु बढी दुख्ने हुन्छ । चिकेनगुनिया सार्ने लामखुट्टे टायर, गमलाको सफा पानीमा बस्छ । ‘डेंगु र चिकेनगुनियामा खासै फरक छैन, सार्ने लामुखट्टे पनि एकै हुन्’ निरीक्षक केसीले भने ।
डेंगु, स्क्रबटाइफस, चिकेनगुनियाबाहेक चितवनमा मलेरिया, हैजालगायतका रोगहरुको पनि जोखिम छ । चितवनमा ०७३÷०७४ मा १५ जनामा मलेरिया देखिएको थियो । गत वर्ष २ हजार ५६२ जनामा डुेंगु परीक्षण गर्दा ६८७ जनामा डेंगु भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुबाट यो वर्ष एक जनाको मृत्यु भएको छ । डेंगु विशेष गरी रत्ननगरमा देखिएको उनले बताए ।
गत वर्ष स्क्रब टाइफसबाट ४ जनाको मत्यु भएको छ । मृत्यु हुनेमा एक जना तनहुँ र ३ जना चितवनका छन् ।
‘ज्वरोबाट डराउनुहोस्’
ज्वरोलाई हामीले सामान्य रुपमा लिन्छौँ । यसलाई सामान्य रुपमा नलिन चिकित्सकहरुले सुझाव दिएका छन् । डेंगु, स्क्रबटाइफस, चिकेनगुनिया, मलेरियालगायत सबैको मुख्य लक्षण भनेको ज्वरो हो । त्यसैले पनि ज्वरोलाई सामान्य रुपमा नलिन चिकित्सकहरुले सुझाव दिएका छन् ।
‘हामी ज्वरो आयो भनेर अस्पतालमा गएर सोझै एन्टिबायोटिक माग्छौँ र खान्छौँ । मागेको औषधिले सञ्चो गर्दैन । ज्वरो बढ्दै गएपछि बल्ल अस्पताल जान्छौँ । त्यतिन्जेलसम्म रोगले निक्कै च्यापेको हुन्छ’ जनस्वास्थ्य कार्यालय प्रमुख झाले भने, ‘ज्वरो आउनसाथ सम्बन्धित चिकित्सकसँग पुगेर जाँच गराइहाल्नुपर्छ ।’
उनले ज्वरोलाई सामान्य रुपमा लिन नहुने बताए । ‘अहिले नयाँनयाँ रोग देखिएको छ, त्यसैले ज्वरोको लक्षण देखिनसाथ हामी सजग हुन जरुरी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *