शिक्षामन्त्रीको प्रश्नः स्वास्थ्यकर्मीलाई डा.केसीको उपचारमा पठाउने कि बाढीपीडित जनताकोमा ?

काठमाडौँ, असार २९ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ । सरकारले वार्तामा बोलाउँदा पनि नआएको शिक्षामन्त्रीको गुनासो छ । डा. गोविन्द केसी काठमाडौँ आउन नमानेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौँ ल्याउने बताएका छन् ।

शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले वार्ता भन्दा पनि पहिलो प्राथमिकता उनको स्वास्थ्य सुधार गर्नु रहेको उल्लेख गर्दै केसीले आउन नमाने बल प्रयोग गरेर भएपनि काठमाडौँ ल्याउने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने ‘पहिलो प्राथमिकता स्वास्थ्य हो, स्वास्थ्यमा सुधार भएमा मात्रै वार्ता गर्न सकिन्छ, अस्वस्थ व्यक्तिसँग वार्ता हुदैन । डाक्टर केसीलाई बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौँ ल्याउछौ । सञ्चारकर्मीलाई आग्रह गर्दै उनले भने, त्यतीबेला बल प्रयोग भयो भनेर नलेख्नुस्।’

साथै मन्त्री पोखरेलले डा.गोविन्द केसीसँग वार्ताका लागि तयार भए पनि वार्ताका लाजि जुम्ला नपुग्ने स्पष्ट पारेका छन्। समारोहमा पोखरेलले भने, ‘सरकार वार्ताका लागि तयार छ, तर वार्ता जुम्लामा होइन काठमाडौँमा हुनुपर्छ।’

केसीले काठमाडौं नआउने र जुम्लामा पनि उपचार नलिने अडान लिएका छन् । मन्त्री खरलेले डा. केसीलाई लिन शुक्रबार नै एक टोली पठाउने तयारी गरिएको पनि जानकारी दिए ।

मन्त्री पोखरेलले अहिले डा. केसीलाई एक पक्षले उचाल्ने र बहकाउने गरेको पाईएकोले त्यो नगर्न आग्रह गर्दै उनको अनसन तोडाउन र समस्याको समाधान गर्न सबैले सहयोग गर्न आग्रह गरे । उनले मेडिकल एशोसिएनको टोलीलाई जुम्ला जान आग्रह गर्दा नमानेको भन्दै दुःख समेत व्यक्त गरे ।

डा. केसीका मागहरु सम्बोधनका लागि एक शक्तिसाली आयोगको परिकल्पना गरिएको र त्यसले समाधान ल्याउने उनले बताए ।

त्यस्तै शिक्षामन्त्री पोखरेलले देश एकतर्फ बाढी पहिरोबाट आक्रान्त भएको बेला केसीले आन्दोलनले थप समस्या निम्ताएको बताए।

‘अनसनले गर्दा डा. केसी बिरामी हुनुहुन्छ, स्वास्थ्यकर्मीहरुलाई डाक्टर केसीको उपचारमा पठाउने कि बाढी पहिरोमा परेका जनतालाई उपचार गर्न पठाउने ! सरकारले के गर्ने ?’, उनले प्रश्न गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *