मदन भण्डारी, अरनिको र बिपी राजमार्ग अवरुद्ध

“
हेटौँडा, असार २८ । हेटौँडा मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहान परेको वर्षात्ले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ आज बिहानदेखि अवरुद्ध भएको छ ।
काठमाडौँबाट आएका हल्का सवारी सुमो, जीप, कार र मोटरसाइकल पहिरो नजीक अलपत्र अवस्थामा रोकिनुपर्दा यात्रुलाई गन्तव्यमा पुग्न निकै कठिनाइ भएको छ ।
दुई सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।
अरनिको र बिपी राजमार्ग अवरुद्ध
बनेपा, बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ ।
यसबाट अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ । बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको शाहले बताउनुभयो । मानवीय क्षति नभए पनि खोला बढेका कारण यातायातको कुनै पनि साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार वर्षाका कारण बिपी राजमार्गका तीन चार ठाउँमा सडक अवरुद्ध भएको छ । सडकका ठाउँ–ठाउँ भासिने र माथिबाट झरेको ढिस्काबाट सडक पुरिएका कारण काभ्रेभञ्ज्याङ, मंगलटारलगायत ठाउँमा सडक अवरुद्ध रहेको उनले बताए ।
खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सीस्थित रोशी खोलाको बीचमा परेका स्थानीय बासिन्दा दुई जनाको उद्धारका लागि प्रहरीको टोली गएको छ ।
“








