फ्रान्स १२ वर्ष पछि सेमिफाइनलमा, उरुग्वे २–० ले पराजित

काठमाडौं, असार २२ । रुसमा जारी विश्वकप फुटबलको पहिलो क्वाटरफाइनलमा फ्रान्स विजयी भएको छ । १९९८ को विश्वकप विजेता फ्रान्सले उरुग्वे लाई २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्स सन् २००६ पछि विश्वकपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सका एन्टोइन ग्रिजम्यान र राफायल भरानेले एक एक गोल गरे ।

भरानेले ४० औं मिनेटमा गोल गरेका हुन् । एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा डिफेन्डर भरानेले हेडमार्फत पहिलो गोल गरे । ग्रिजम्यानले ६१ औं मिनेटमा डिबक्सबाहिरबाट गरेको प्रहार उरुग्वेका गोलरक्षकले रोक्न सकेनन् । ग्रिजम्यानको शशक्त प्रहार गोलरक्षको हातमा लागेर फुत्किएको थियो ।

उरुग्वेले टिकीटाका खेलेपनि फ्रान्सको आक्रमक फुटवलका अगाडी कमजोर भयो ।

फ्रान्स एक पटक र उरुग्वे दुई पटकको विश्वकप विजेता हो । उरुग्वेले अन्तिम पटक सन् १९५० मा विश्वकप जितेको थियो भने फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो । दुवै टोलीले फाइनलमा ब्राजिललाई हराएका थिए ।

सन् १९५० को विश्वकपमा फाइनल नभएपनि लिग चरणको अन्तिम खेलमा ब्राजिललाई हराएर उरुग्वेले उपाधि जित्ने निश्चित गरेको थियो ।

फ्रान्सले यसपटक समूहगत चरणमा अष्ट्रेलियालाई २–१ र पेरुलाई १–० गोलले हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । उसले प्रिक्वाटरफाइनलमा साविक उपविजेता अर्जेन्टिनालाई ४–३ गोलले हराएको थियो । फ्रान्स पछिल्ला आठ खेलयता अपराजित छ । उसले यसबीचमा ६ जित र दुई बराबरीको नतिजा निकालेको छ ।

यता उरुग्वेले भने पछिल्ला सात खेल लगातार जितेको थियो । जारी विश्वकपअन्तर्गत पहिलो खेलमा इजिप्टलाई १–० र साउदी अरबलाई १–० गोलले हराएको उरुग्वेले समूहको अन्तिम खेलमा घरेलु टोली रुसलाई ३–० गोलले पराजित गरेको थियो । उसले प्रिक्वाटरफाइनलमा पोर्चुगललाई २–१ गोलले हराएको थियो ।

फ्रान्सले अन्तर्राष्ट्रिय फुटबलमा उरुग्वेलाई पहिलो पटक पराजित गरेको हो । यी दुई टोली विश्वकपमा हालसम्म तीन पटक भिडेका छन् । विश्वकपमा यी दुई टोली पहिलोपटक सन् १९६६ मा भिडेका थिए जुन खेल उरुग्वे २–१ गोलले विजयी भएको थियो ।

सन् २००२ र २०१० को विश्वकपमा समूहगत चरणमा भिडेका यी दुई टोलीले दुवै खेलमा गोलरहित बराबरीको नतिजा निकालेका थिए । अन्तिमपटक यी दुई टोलीबीच सन् २०१३ मा मैत्रिपुर्ण खेलमा प्रतिष्पर्धा भएको थियो जसमा उरुग्वे १–० गोलले विजयी भएको थियो । त्यसअघि यी दुई टोलीबीच भएका लगातार चार भिडन्त गोलरहित बराबरीमा सकिएका थिए ।
आज राती ११ः४५ मा ५ पटकको विश्वविजेता ब्राजिल र बेल्जियमविचको दोस्रो क्वाटरफाइनल खेल हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *