पहिरो तथा डुबान क्षेत्रका कर्मचारीले जिल्ला कार्यक्षेत्र छाड्न नपाउने

काठमाडौँ,असार १८ । बाढी पहिरो तथा डुबान क्षेत्रका सरकारी कर्मचारीले कार्यक्षेत्र छाड्न नपाउने भएका छन् । सरकारले पहिरो तथा डुबान क्षेत्रमा कार्यरत कर्मचारीलाई कार्यक्षेत्र नछोड्न लिखित निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले वर्षा सुरु भएसँगै देशका विभिन्न ठाउँमा बाढी र डुबानका घटना भैरहेको भन्दै यस्तो निर्देशन दिएका हुन् ।

यस्तै, बाढी तथा डुबान नियन्त्रण गर्न खाली बोरा, जिआई तार जाली, बाँसलगायत आपतकालीन निर्माण सामग्री किन्न बजेटको व्यवस्थासमेत गरेको छ । आपतकालीन सामग्री खरिद गर्न तराईका हरेक जिल्लालाई १० लाख रुपैयाँ र पहाडी जिल्लालाई ५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मनसुन पूर्वतयारीका लागि मातहतका आयोजना, डिभिजन, सबडिभिजन तथा जनताको तटबन्द कार्यक्रमका फिल्ड कार्यालयलाई जोखिमयुक्त क्षेत्र पहिचान गरी काम गर्न निर्देशन दिइएको छ ।

मन्त्रीको निर्देशनपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जल उत्पन्न प्रकोप र जल तथा मौसम विज्ञान विभागका फिल्डका कुनै पनि कर्मचारीले कार्यालय छोड्न पाउने छैनन् ।

मनसुनको समयमा प्रकोपबाट हुन सक्ने जनधनको क्षति न्यूनिकरण गर्न जनतालाई सचेत गराउने, रेडियोबाट जानकारीमूलक सूचना प्रवाह गर्न पनि मन्त्री पुनको निर्देशन छ । मनसुनको समयमा प्रकोपका घटना घटे वा आवश्यक सहयोग माग गर्न सम्पर्कका लागि १६६०–०१–२६०७८ टोल फ्रि नम्बरको पनि व्यवस्था गरिएको छ । यो नम्बर डायल गरी जल तथा मौसम विज्ञान विभागमा कुरा गर्न सकिनेछ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =