राेकियाे मेसी र रोनाल्डोको विश्वकप यात्रा, सपना अधुरै

काठमाडौं , असार १७ । वर्तमान पुस्ताका उत्कृष्ट फुटबलरद्वय लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको टिम २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएका छन्। अर्जेन्टिना मेसीको कप्तानी र पोर्चुगल रोनाल्डोको कप्तानीमा मैदान उत्रिए पनि दुवै टिम अन्तिम १६ बाटै बाहिन बाध्य भए।

अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई फ्रान्सले ४ – ३ गोलले पराजित गर्दा पोर्चुगललाई उरुग्वेले २ – १ गोलले हरायो।

बाहिरिनुअघि रोनाल्डोले ४ गोल गर्दा मेसीले १ गोल गरेका थिए।

दुवै खेलाडी आजको समयका उत्कृष्ट फुटबलर हुन्। पछिल्लो १० वर्षदेखि विश्व फुटबल मेसी र रोनाल्डोबीच नै घुमिरहेको छ।

समकालीन फुटबलमा उत्कृष्ट भए पनि दुवैले विश्वकपको ट्रफी उचाल्ने अवसर अहिलेसम्म पाएका छैनन्। धेरैको अनुमान थियो, दुवैका लागि रसिया विश्वकप एउटा राम्रो अवसर हुन सक्नेछ। तर दुवै खेलाडी यो अवसरबाट वञ्चित भएका छन्।

स्पेनिस ला लिगाको ‘गोल स्कोरिङ चार्ट’ मा पनि मेसी र रोनाल्डोबीच नै मुख्य प्रतिस्पर्धा छ। रोनाल्डो युरोपियन च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता हुन्। उनलाई मेसीले पछ्याइरहेका छन्।

उमेर ढल्कँदै गएको अवस्थामा अर्को विश्वकपसम्म दुवैले खेल्छन् भनेर यसै भन्न सकिन्न। ३१ वर्षीय मेसी त संन्यास फिर्ता गरेर खेलमा फर्किएका हुन्। रोनाल्डोको उमेर झन् ३३ कटिसकेको छ।

दुवैले चौथो पटक विश्वकप खेलेका थिए। चौथो प्रयासमा मेसी र रोनाल्डो सफल  भएनन्, जसले उनीहरुको विश्वकप जित्ने सपना अधुरै रह्यो।

४ विश्वकप : मेसी र रोनाल्डोको टिम कुन चरणमा पराजित? 

पोर्चुगल 
२००६– सेमिफाइनलमा फ्रान्ससँग १–० गोलले पराजित
२०१०– अन्तिम १६ मा स्पेनसँग १–० ले पराजित
२०१४– समूह चरणबाटै बाहिर
२०१८–  अन्तिम १६ मा उरुग्वेसँग २-१ गोलले पराजित

अर्जेन्टिना 
२००६– क्वार्टरफाइनलमा जर्मनीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित
२०१०– क्वार्टरफाइनलमा जर्मनीसँग ४–० गोलले पराजित
२०१४– फाइनलमा जर्मनीसँग १–० गोलले पराजित
२०१८–  अन्तिम १६ मा फ्रान्ससँग ४-३ गोलले पराजित

सन् २०२२ मा कतारमा आयोजना विश्वकपमा मेसी ३५ वर्ष र रोनाल्डो ३७ वर्षका हुनेछन्। तर, उनीहरुको नाम टिममा पर्ला-नपर्ला, अहिले नै यकिन गर्न भने सकिन्न।

सन् १९३० यता ४ सय २२ खेलाडीले विश्वकपको ट्रफी उचाल्ने अवसर पाएका छन्। ती ४ सय २२ खेलाडीमा ७ खेलाडी मात्र ३५ वर्षभन्दा माथिका छन्। ७ मध्ये पनि २ जनाले मात्र गोल गर्न सकेका छन्। विश्वकपको इतिहास हेर्दा ३५ वर्ष काटेका खेलाडी त्यति प्रभावशाली देखिएका छैनन्। तर, मेसी र रोनाल्डोले कतार विश्वकप खेलेर अर्को इतिहास नबनाउलान् भन्न भने सकिन्न।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *