रवि लामिछाने प्रकरण : के भन्छन् अध्यक्ष, पूर्वअध्यक्षहरु  ?

काठमाडौँ, असार १३ । केही समय अगाडी देखी रवि लामिछाने र प्रेस काउन्सिलविच विवाद हुँँदै आएको छ । प्रेस काउन्सिलमा रवि लामिछानेविरुद्ध उजुरी परेपछि उनीबारे अनेक टिकाटिप्पणी भएका छन् ।

बुधबार यस्तै विषयमा विभिन्न सम्बन्धित व्यक्तिहरुले काठमाडौँमा बैठक गरी छलफल र बहस गरेका छन् । बैठकमा सहभागिहरुमध्ये  अध्यक्ष–पूर्व अध्यक्षबाट रबि लामिछाने प्रवृतिको निन्दा भएको छ । रवि लामिछानेले कानुन मिचेको उनीहरुको आरोप छ । कसैलाई पनि पपुलर हुँदैमा कानुनको उल्लंघन गर्ने छुट नभएको उनीहरुको तर्क छ ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ :
“जब प्रेस काउन्सिलमा विभिन्न समयमा उजुरी आए, छानविनको क्रममा स्पष्टिकरण सोधियो, प्रतिउत्तरमा म विदेशी नागरिक होइन, म पत्रकार होइन, काउन्सिलले दिने प्रेस पास लिनुभन्दा जुत्ता पालिस गरेर बस्छु, अब उप्रान्त दुःख दिने नियतले पत्र नकाटियोस् भन्ने जवाफ आयो । वास्तविकता बुझ्न अध्यागमन, गृह मन्त्रालय, सञ्चार मन्त्रालय र सूचना विभागमा पत्राचार गर्दा सफेद झुट पेश गरेको पुष्टी भयो ।”

प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष सोमनाथ घिमिरे :
“उजुरी परेपछि रबि प्रकरण उजागर, सफेद झुट बोलेको पनि देखियो । गैरआवासीय तथा नागरिक सवैले कानुनको पालना गर्नैपर्छ । काउन्सिलले आचारसंहिताको विषयमा कारवाही गर्न उपयुक्त छ । पपुलर हुँदैमा कानुन पालना नगर्ने भन्ने हुँदैन । स्वतन्त्र पत्रकारितालाई जोगाउने र वातावरण धमिल्याउनेलाई छोड्न नहुने देखिन्छ ।”

काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्की :
“रबिबिरुद्ध उजुरी परेपछि काउन्सिलले स्पष्टिकरण सोध्ने अधिकार राख्दछ । रबिको उत्तरले पत्रकारितासम्बन्धि सामान्य ज्ञान पनि नभएको, क–ख पनि नजानेको देखियो । चोरीचकारी, विकृति बढ्दा प्रहरी सक्रियता बढेझैं पत्रकारितामा धमिलो देखिएको अवस्थामा काउन्सिलको भूमिका थप बढेको छ । प्रजातन्त्रमा निश्चित मूल्य मान्यता हुन्छन्, हरेक व्यक्ति कँही न कहीँ उत्तरदायित्व हुनुपर्छ ।”

काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहाल : 
“हामी प्रेस स्वतन्त्रताको पक्षमा छौं, नथाकिकन लाग्नुपर्छ । जसले टेर्दैन, त्यसलाई भुत्ते बनाइ दिन सक्छ । काउन्सिल प्रेस कानुनको कार्यान्वयन गर्ने संस्था हो ।”

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य :
“ज्यूँदो मान्छेलाई श्रद्धाञ्जली दिनेहरु पत्रकार होइनन् । जनतालाई थाह छैन, सरकारले खेद्न खोज्यो भनेर जनमानसमा भ्रम पैदा गरियो । जनआस्थाको विषयलाई लिएर प्रेस काउन्सिलको गरिमा, मर्यादामाथि प्रहार भएको छ ।”

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरी :
“रबिलाई चर्चामा ल्याउन हाम्रै पत्रकारिता, हाम्रै राजनीति, विगतको राजनीतिक द्वन्द्व र त्यसबाट उत्पन्न नागरिकका कुण्ठा हुन् । त्रुटी देखे आचारसंहिता अक्षरस पालना गर्न लगाउने र उनको अराजक हुने अधिकारलाई माया गर्दै पालना गराउनेतर्फ लाग्नुपर्छ ।”

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य :
“न्युज २४ मा आएको विषयवस्तु हाम्रो मुल्य मान्यता अनुसार हो कि होइन ? त्यसको लागि काउन्सिलले केही गर्नुपर्छ ।”

फोनिजका अध्यक्ष डण्ड गुरुङ :
“रबिको कार्यक्रममा गाली गर्न मिल्ने मार्छु, काट्छु शब्दहरु प्रयोग भएका छन् । काउन्सिल संस्थाको गरिमालाई जोगाउन यस्ता प्रबृत्तिलाई अन्त्य गर्नैपर्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *