विश्वकप फुटबल : बलियो बेल्जियम हराउने दाउमा ट्युनिसिया

काठमाडौँ । पहिलो खेलमा प्रभावशाली जीत दर्ता गरेको बेल्जियमले दोश्रो खेलमा शनिबार ट्युनिसियासँग खेल्दै छ । यो खेल जीतेमा उ समूहको एक खेल अघि नै नकआउट चरणमा पुग्ने छ । पहिलो खेलमा पहिलो पटक विश्वकप खेलेको पानामालाई ३–० ले निराश बनाएको बेल्जियम जीतको निरन्तरतासहित मैदानमा आउने छ ।

बेल्जियमका लुकाकु पहिलो खेलमा नायक भएका थिए । पानामाविरुद्ध उनले दुई गोल गरेका थिए ।
ट्युनिसिया इङ्ल्याण्डलाई कडा टक्कर दिएको टिम हो भलै उ पहिलो खेलमा पराजित भयो । निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी खेलेको ट्युनिसियाले अतिरिक्त समयमा गोल खान पुगेको थियो ।

ट्युनिसियालाई कप्तान ह्यारी केनले निराश बनाएका थिए । आजको खेलमा ट्युनिसियउा पहिलो अंकको खोजीमा हुने छ । आज पराजित भएको ट्युनिसियाको अघिल्लो चरणको संभावना सकिने छ । त्यसले पनि उसँग जीतको बिकल्प छैन । ट्युनिसियाको तुलनामा बेल्जियम शसक्त टिम हो ।

बेल्जियम
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपअघि निकालेको बरियतामा बेल्जियम तेस्रो स्थानमा छ । बेल्जियमको यो विश्वकपमा १३ औँ सहभागिता हो । उसले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो ।

विश्वकपमा समूह चरणका पछिल्ला ९ खेलमा बेल्जियम अपराजित छ । त्यसमा पनि पछिल्ला चार खेलमा त उसले जित निकालेको छ । उसले पछिल्ला सात विश्वकपमा ६ पटक कम्तिमा अन्तिम १६ मा स्थान बनाएको छ । सन् १९९८ मा भने उ समूह चरणबाटै बाहिरिएको थियो ।

बेल्जियमले विश्वकपमा आफ्नो पहिलो खेलको कुरा गर्दा पछिल्ला ९ विश्वकप मध्ये उसले आफ्नो पहिलो खेलमा एक पटक मात्रै हार बेहोरेको छ । उसले अहिलेसम्म पहिलो खेल हारेको भनेको सन् १९८६ मा मेक्सिकोसँग हो ।

बेल्जियमले सन् १९७० यता विश्वकपको पहिलो खेलमा दुई भन्दा बढी गोल गरेको छैन । उसले सन् १९७० को पहिलो खेलमा एल साल्भाडोरलाई ३–० ले हराएको थियो ।
विश्वकप छनौटको क्रममा अपराजित रहने युरोपका चार देशमध्ये बेल्जियम पनि एक हो । यस्तै इंग्ल्याण्ड, जर्मनी र स्पेन पनि अपराजित थिए ।

ट्युनिसिया
विश्वकपमा ट्युनिसियाको यो पाँचौँ सहभागिता हो । यसअघिका चार सहभागितामा उसले समूह चरण पार गर्न सकेको छैन । पछिल्लो पटक उसले सन् २००६ मा विश्वकप खेलेको थियो ।

उसले विश्वकपमा खेलेका १२ मध्ये ११ खेलमा जित निकाल्न सकेको छैन । उसले जितेको भनेको सन् १९७८ मा मेक्सिको विरुद्ध हो । यो नै उसले अहिलेसम्म विश्वकपमा दर्ता गरेको जित हो । यो अफ्रिकी देशले विश्वकपमा निकालेको पहिलो जित पनि थियो ।

ट्युनिसियाले अहिलेसम्म खेलेका १२ खेलमा गोल नखाएको भनेको एउटा मात्रै खेल छ । उसले सन् १९७८ को विश्वकपमा पश्चिम जर्मनीसँग गोलरहित बराबरी खेलेको थियो ।

तर उसले यसपटकको विश्वकप छनौटमा कुनै पनि खेल हारेन र मात्रै चार गोल खायो । फिफा बरियतामा २१ औँ स्थानमा रहेको ट्युनिसिया अफ्रिकी देशमा सबैभन्दा अघि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *