काँग्रेसलाई हरहालतमा एक नम्बर बनाउनुपर्छ, म पनि आजैबाट लाग्छु– देउवा

“
हेटौँडा, असार ८ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा एक नम्बर बनाउनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला सभापतिहरुको भेला समापन कार्यक्रमलाई हेटौँडामा सम्बोधन गर्दै सभापति देउवाले पार्टीलाई बहुमत पुग्ने गरी पुरानै अवस्थामा लगी कुनै पनि हालतमा कांग्रेसलाई नम्बर एक बनाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, “”कुनै पनि हालतमा पार्टीलाई नम्बर वान बनाउनुपर्छ। बहुमत पुग्नेगरी पुरानै अवस्थामा लानुपर्छ। यसका लागि साथीहरु पनि लाग्नुपर्यो । म पनि आजैबाट लाग्छु””
देशभरका साथीहरुले निर्वाचनका हारको कुरा गरेको उल्लेख गर्दै यसमा आफ्नो पनि कमजोरी रहेको देउवाको स्वीकारोक्ति थियो । उनले पार्टीलाई पहिलेकै अवस्थामा ल्याउनका लागि आजैबाट अहोरात्र खट्ने प्रतिबद्धतासमते जाहेर गरे।
उनले भने, त्यो जाली काम गर्ने सिलवाल (सांसद नवराज सिलवाल) अहिले कुन पार्टीमा छ ? दुईटा कार्यसम्पादन मुल्यांकन बोकेर हिडेको छ । त्यस्तो कामलाई सदर गरिदिने उही प्रधानन्यायाधीश । त्यसैल बाध्य भएर महाभियोग लगाउनुपर्यो ।
कार्यक्रममा बोल्दै सभापति देउवाले निर्वाचनका क्रममा बम विस्फोटमा परी घाइते भएका उदयपुरका सांसद उम्मेदवार नारायण कार्कीलाई पार्टीको केन्द्रीय समितिले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे।
समापन समारोहमा देउवाले जिल्ला सभापतिहरुको सुझाव पार्टीका लागि निकै महत्वपूर्ण भएको धारणा राखे ।
“








