विश्वकप २०१८ः पहिलो पटक आमने सामने कोस्टारिका भर्सेस सर्बिया

काठमाडौँ, असार ३ । विश्वकप फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा समूह ई मा रहेका कोस्टारिका र सर्बिया भिड्दै छन् । खेल बेलुका पौने छ बजे हुँदैछ ।

यो खेल दुवै टिमका लागि नयाँ अनुभव हुनेछ । कोस्टारिका र सर्बियाबिच अहिलेसम्म कुनै पनि प्रतिस्पर्धामा भेट भएको छैन । दुवै टिम एक अर्काका लागि नयाँ हुने छन् ।

दुई ठूला टिम ब्राजिल र स्वीट्जरल्याण्ड रहेको समूहमा भएकाले यी दुईको अघिल्लो चरण प्रवेशको संभावना न्युन मानिएको छ । तर ब्राजिल र स्वीट्जरल्याण्ड कुनै खेलमा हारेमा यी दुई मध्ये एकको अघिल्लो चरण सम्भावना बलियो हुनेछ ।

पहिलो खेलमा अबल कोस्टारिका

पछिल्लो फिफा बरियतामा २३ औं स्थानमा रहेको कोस्टारिकाले पाँचौँ पटक विश्वकप खेल्दैछ । यसअघिका चार सहभागितामा यो टिम दुई पटक नकआउट चरणमा पुगेको छ । सन् २०१४ को विश्वकपमा कोस्टारिका क्वाटरफाइनलमा पुगेको थियो । यो टिम पेनाल्टी सुटआउट बाहेक सन् २०१४ को विश्वकपमा अपराजित रहने जर्मनी र नेदरल्याण्डससहितको टिम हो ।

कोस्टारिकाले यसअघिका चार विश्वकप मध्ये तीन वटामा पहिलो खेलमा जित निकालेको छ । सन् २००६ को विश्वकपको पहिलो खेलमा कोस्टारिका जर्मनीसँग ४–२ ले हारेको थियो । कोस्टारिकाले सन् १९९० मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यो बेलाको छनौट चरण र विश्वकपका सबै खेलमा पूरा समय खेलेका ओस्कार रामिरेज अहिले प्रशिक्षकको भूमिकामा छन् । प्रशिक्षकका रुपमा उनको यो पहिलो विश्वकप हो ।

समूह चरणमै कठिन अवस्थामा सर्बिया

१२ औँ पटक विश्वकप खेल्न लागेको टिम हो, सर्बिया । उसले पछिल्ला दुई विश्वकपमा आफ्नो पहिलो खेल १–० ले गुमाएको छ । सर्बियाले सन् २०१० अघि युगोस्लाभिया र सर्बिया तथा सर्बिया र मन्टेनेग्रोको रुपमा संयुक्त सहभागिता जनाउने गरेको थियो ।

उसले सन् २०१० विश्वकपमा स्वतन्त्र राष्ट्रको रुपमा सहभागिता जनाएको थियो । स्वतन्त्र राष्ट्रको रुपमा सर्बियाको यो दोस्रो सहभागिता हो ।  सर्बिया आफ्ना पछिल्ला दुई विश्वकप, २००६ र २०१० मा नकआउट चरणमा पुग्न सकेको छैन । ती दुई सहभागितामा सर्बियाले ६ खेलमा पाँच खेल गुमाएको छ । उसले जितेको भनेको सन् २०१० मा जर्मनी विरुद्ध मात्रै हो । त्यो बेला उसले १–० को जित निकालेको थियो ।

उसको राम्रो सहभागिता भनेको सन् १९३० र १९६२ हो । त्यो बेला युगोसलाभियाले चौथो स्थानमा रहेर प्रतियोगिता टुंग्याएको थियो । त्यसयता न युगोस्लाभिया न सर्बिया कुनैले पनि क्वाटरफाइनल भन्दा अघिको यात्रा तय गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *