भरतपुर–ठोरी हुलाकी सडकको ‘बाइपास’ खोज्न माग

“
गीतानगर,जेठ २७ । भरपुर–माडी–ठोरी हुलाकी सडकको ‘बाइपास’ खोज्न माग गरिएको छ ।
अहिले चलिरहेको भरतपुर–ठोरी हुलाकी सडकलाई मापदण्ड अनुसार चौडा पारिँदा धेरै स्थानीयको घरजग्गा गुम्ने भएपछि ‘बाइपास’ मार्गको खोजी गरिएको हो ।
भरतपुर–माडी–ठोरी हुलाकी सडक सरोकार समितिले शनिबार ३ नं. प्रदेशका सदस्यहरु तथा स्थानीय जनप्रतिनिधिलाई बोलाएर विकल्पको खोजी गर्न आग्रह गरेको छ ।
सरोकार समिति संयोजक श्याम विष्टले जनतालाई घरबारविहीन बनाएर विकास हुन नसक्ने बताए । उनले भने, ‘कुनै पनि जनता विकास विरोधी छैनन्, तर विकासले विनाश निम्त्याउने अवस्था आउन हुँदैन ।’
संयोजक विष्टका अनुसार अहिलेको मापदण्ड अनुसार भरतपुर–ठोरी अहिलेको सडकलाई नै विस्तार गरेमा ऋण काढेर घरबार बनाएका स्थानीय जनताहरु सुकुम्बासी हुने अवस्थामा पुग्छन् ।
उनले भने, ‘कसैलाई सुकुम्बासी त कसैलाई उठिबास लगाएर हुलाकी सडकको विस्तार गर्ने काम तत्काल रोकिनु पर्छ, बस्तीबाट बाहिरको विकल्प खोजिनु पर्छ ।’
हुलाकी सडकको मापदण्डमा पटकपटक परिवर्तन भइरहेको हुनाले स्थानीयमा अन्यौलता बढेको छ । भरतपुर महानगरले पनि हुलाकी मार्गमा सडकको केन्द्रबाट २५ मिटर छाड्नै पर्ने प्रावधान बनाएको छ । अझ महानगरले थप ६ मिटर खाली (सेडव्याक) राख्न भनेको छ ।
यही मापदण्डअनुसार हुलाकी सडकको विस्तार गरे अहिले बनिरहेका धेरै घरहरु भत्कने अवस्था छ । ‘जनप्रतिनिधिबाट यसबारेमा ठोस कुरा आउनुपर्यो’ संयोजक विष्टले भने,
‘यो सडकमा किनबेच बन्द छ, बैंकले धितो राखेर ऋण दिन मानेको छैन । लाखौँ हालेर किनेको घरजग्गा कौडीको भाउमा पनि गएको छैन ।’
भरतपुर माडी ठोरी हुलाकी सडकको विषयमा प्रदेश ३ का सांसद विजय सुवेदीले गुरुयोजना बनाएर अघि बढ्नु पर्ने बताए । उनले भने, ‘जगतपुरबाट गोन्द्राङसम्मको सडक विकल्प हुन सक्नेछ ।’
सांसद सुवेदीका अनुसार सहरभित्र राजमार्ग बन्नु हुँदैन, भरतपुर महानगरले बनाउन लागेको रिङ रोड पनि हुलाकी मार्गको विकल्प हुनसक्छ ।
अर्का प्रदेश सांसद कृष्ण भुर्तेलले ३४ सालको राजपत्रमा अंकित मापदण्डमा टेकेर सडकको विस्तार गर्नुपर्ने बताए । उनले भने, ‘यसो गरेमा कम क्षति हुन्छ, क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराइनु पर्छ ।’
भुर्तेलका अनुसार जनताको घरमा डोजर लगाएर विकास हुँदैन । उनले भने, ‘केरुङघोल र गोन्द्रङबाट विकल्प खोजिनुपर्छ । बस्तीको मध्येभागबाट सम्भव छैन ।’
अर्का प्रदेश सांसद रामलाल महतोले हुलाकी मार्गको समस्या छिटो हुनुपर्ने बताए । उनले भने, ‘तत्काल विकल्प खोजिनुपर्छ, विकल्प धेरै छन् ।’
यसैगरी प्रदेश सांसद मिलनबाबु श्रेष्ठले हुलाकी सडकको अधिकार प्रदेशको हो कि, स्थानीयको हो कि वा केन्द्रको हो थाहा नभएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका नेता तेजेन्द्र खड्काले भरतपुर माडी डोरी सडकलाई २०३४ सालमा जिल्ला सडकको रुपमा राखिएको र अहिले पनि उक्त सडकलाई जिल्ला सडकको रुपमा राखिनुपर्ने बताए ।
नेपाल कांग्रेसका सचिव राजिव न्यौपानेले हुलाकी सडकको समस्या चाँडै समाधान हुनुपर्ने बताए ।
भरतपुर ६ का वडाध्यक्ष हरिविलास कोइराला, ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, २२ का वडाध्यक्ष विष्णुराज महतो, २३ का वडाध्यक्ष नरिनारायण पौडेलले विनाश नगरी विकास गर्नुपर्ने बताए ।
“








