अनुसन्धानको नजिक पुग्दै गर्दा सुन तस्करीमा संलग्न ठूला माछाहरु छट्पटाइरहेका छन्–गृहमन्त्री

काठमाडौँ, जेठ २३ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी अनुसन्धानको नजिक पुग्दै गर्दा ठूला माछाहरु छट्पटाइरहेको बताएका छन् ।

गृहमन्त्रीका रुपमा आफ्नो सयदिनको काम बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले साढे ३३ केजी सुन र सनम हत्या काण्डलाई औँल्याउँदै अनुसन्धानको नजिक पुग्दै गर्दा ठूला माछाहरु छट्पटाइरहेको बताएका हुन् ।

साथै उनले सुन तस्करीसँग हुण्डीको कारोबार पनि जोडिएकोले अनुसन्धान त्यसतर्फ पनि केन्द्रित रहेको बताए ।

गृहमन्त्री थापाले मंगलबार पनि गोरेका एक सहयोगी पक्राउ परेको भन्दै माछा मार्ने क्रम जारी रहेको बताएका छन् । उनले भने, ‘हिजो पनि एउटा माछा परेको छ । माछा मार्ने क्रम जारी छ ।’

‘सुरुमा भुरा माछाहरु समातिए । त्यसपछि मझौला समातिएका छन्’, उनले भने, ‘माछा मार्न क्रम जारी छ । त्यसैले आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।’

थापाले सुन तस्करलाई बचाउन धेरैतिरबाट धेरै शक्ति लागिपरेको भन्दै उनले सुन काण्डको अनुसन्धान जोखिमपूर्ण रहेको बताए । ‘हामी अनेक जोखिम मोल्दै अघि बढेका छौं । हामीले हचुवाको तालमा उठाएको कदम होइन’, उनले थपे, ‘तथ्यको आधारमा अनुसन्धान जारी छ ।’

गृहमन्त्री थापाले काम नगर्ने ठेकदारमाथि सुरु गरिएको कारवाहीलाई पनि निरन्तरता दिने स्पष्ट पारे । उपत्यकामा ५ सय विकास परियोजनामध्ये ३ सयको काम अलपत्र छन् । उनले भने, तर सबै ठेकदार भने धरधनी छन् । केही सांसद पनि ठेकदार होलान् । जसले समयमा काम पुरा गर्दैनन् उनीहरुमाथि कारवाही हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *