सुत्केरीको मृत्युबारे अस्पताल प्रशासन समक्ष छानबिनको माग

“
धरान, जेठ २२ । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानको सुत्केरी वार्डमा भर्ना भई सामान्य सुत्केरी भएको केही घण्टा पछि नै बिरामीको आफन्तलाई बिरामीको मृत्यु भएको खबर सुनाउदा चित्त बुझ्दो जवाफ नदिएको भन्दै अस्पताल प्रशासन समक्ष छानबिनका लागी निबेदन दिएका छन् ।
धनकुटा नगरपालिका वडा नम्बर ७ बस्ने कौशिला राईको जेठाजु भरत कुमार याख्खाले अस्पताल प्रशासनमा छनबिनका लागि निवेदन दिएका हुन् ।
याख्खाले आफनो निबेदनमा कौशिला राईलाई गत जेठ २१ गते भर्ना भएको उल्लेख गरेको छ भने २२ गते बिहान ३ बजेर ४५ मिनेटमा सामान्य डेलिभरी भएर एक छोरी जन्मेको बताएको छ ।
सुत्केरी गराउने स्वास्थ्य कर्मिले नै बच्चाको कपडा समेत माग गरि आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको बताएका छन् ।
तर अचानक करिब ५ बजे बिहान आमाको रक्तस्राव बढी भएकोले रगत मगाएको र दुई पिन्ट रगत उपलब्ध गराएको याख्खाले पेश गरेको निवेदनमा उल्लेख छ ।
तर सोही दिन एक्कासि बिहान करिब ६ बजे बिरामीको मृत्यु भएको खबर सुनाएको याख्खाको भनाई छ ।
रक्तस्राव पछि तुरुन्तै रगत पनि उपलब्ध गराएको तर श्रोत साधन हुँदाहुँदै पनि बिना कारण सामान्य सुत्केरी पछि मृत्यु भएको खबर आउनुमा कुनै कारण, चित्तबुझ्दो जवाफ नभएको राईका पारिबारीक श्रोतको दावी छ ।
मृतकका आफन्तले के कति कारणले मृत्यु भएको हो र सामान्य सुत्केरी पछि कसरी मृत्यु भएको हो सोको चित्तबुझ्दो जवाफ माग गर्दै अस्पताल प्रशासनमा निवेदन पेश गरेका छन् ।
त्यस्तै बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठानमा गत जेष्ठ १९ गते पनि मृगौलाका बिरामी प्रबिन राईको रगत अर्को बिरामीको नाममा तानिएको बिरामी स्वयम्ले नै जानकारी दिएका छन् ।
अर्को बिरामीको रगत तान्नुपर्नेमा मृगौलाका बिरामी मेडिसिन बिभाग २ मा बेड नं ३२ मा भर्ना भएका बिरामी प्रबिन राईको रगत तानिएको थियो ।
यसरी चिकित्सकको लापरबाहीको कारण कैयौं बिरामी प्रतिष्ठानमा अकालमै मृत्युको सिकार समेत हुने गरेका छन भने पहँुच नहुने र बोल्न नसक्ने बिरामी तथा तिनका आफन्तले मारमा परेको गुनासो बिरामिहरुले गर्ने गरेका छन ।
“








