सनराइज बैङ्कको कर्तुत शनिवार खोलियो १७ करोड ९५ लाखको एलसी


खगेन्द्र अधिकारी
साउन ५, काठमाडौँ । सनराईज बैङ्क धरान शाखाले शनिवारका दिन एलसी खुल्ला गरेको पाइएको छ । बैङ्कले गत असार ३१ गते आर्थिक वर्ष ०७३/०७४ को अन्तिम दिन शनिवार नेपाल राष्ट्र बैङ्कले राजस्व सङ्कलन सहजताका लागि आर्थिक कारोबार गर्न जारी गरेको सूचनाको फाइदा उठाउँदै सनराईज बैङ्कको धरान शाखाले १७ करोड ९५ लाखको एलसी खोलेको हो ।
बैङ्कले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारको दबाबमा उक्त एलसी खोलेको हो । प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआइ १.५ टेस्ला खरिदका लागि सो एलसी खोलेको हो । एलसी खोल्ने विषयमा सनराइज बैङ्क धरानका शाखा प्रमुख सूर्य बहादुर बलम्पाकीको समेत प्रत्यक्ष संलग्नता रहेको बुझिएको छ ।

‘बैङ्कका ट्रेड डिपार्टका सुवर्ण रेग्मीले भने बैङ्क ३६५ दिन नै खोलिने बताउँदै शनिवार एलसी खोल्नु नौलो कुरा नभएको प्रतिक्रिया दिए’

उनले यस अघि मकालु खबरलाई प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारको अनुरोधमा एलसी खोलेको बताएका थिए । तर, प्रतिष्ठान स्रोतका अनुसार बैङ्क मेनेजर बलम्पाकीले नै ‘नेपाल राष्ट्र बैङ्कले कारोबार गर्नु भनेर सार्वजनिक सूचना नै जारी गरेकोले एलसी खोल्न मिल्ने’ भनेकोले एलसी खोलिएको हो । यो विषयमा बलम्पाकीले मकालु खबरसँग असार ३१ गते एलसी खोलिएको स्वीकार गरिसकेका छन् । स्रोतका अनुसार ३१ गते एलसी नखोल्दा एमआरआई मेसिन खरिदको प्रक्रिया अघि नबढ्ने भएकोले रातारात बैङ्कसँगको मिलेमतोमा एलसी खोलिएको हो । ‘आर्थिक वर्षको अन्तिम दिन एलसी नखोलिएको भए एमआरआई खरिद गर्ने प्रक्रिया अघि बढ्ने थिएन, त्यही भएर बैङ्कलाई अनुरोध गरेरै गलत ढङ्गबाट एलसी खोलिएको हो ।’ स्रोतको दाबी छ ।
खरिद गर्न लागिएको एमआरआई १.५ टेस्लाका विषयमा प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र शिक्षाध्यक्ष विक्रम प्रसाद श्रेष्ठको असहमति हुँदाहुँदै पनि निर्णय गरिएको हो । करिब १२ करोड पर्ने उक्त मेसिन खरिद गर्न लागि १८ करोड खर्चिएका हुन् । प्रतिष्ठानका कार्यकारिणी समितिका सदस्यद्वय रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र शिक्षाध्यक्ष डा. विक्रम प्रसाद श्रेष्ठले नोट अफ डिसेन्ट नै लेखेका छन् ।

 प्रतिष्ठानले खरिद गर्न लागिएको एमआरआई मेसिनमा चर्को भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा उजुरी परेको छ ।
नेपाल राष्ट्र बैङ्कले आव ०७३/०७४ को अन्तिम दिन अर्थात् असार ३१ गते शनिवार राजस्व दाखिलाको सहजताका लागि बैङ्कलाई कारोबार गर्न निर्देशन दिएको तर, एलसी खोल्न नदिएको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक नारायण पौडेलले बताए । ‘हामीले आर्थिक वर्षको राजस्व सङ्कलन गर्न सहज होस् भनेर शनिवार नै भए पनि कारोबार गर्नु भनेका थियौँ तर, एलसी खोल्न पाइने भनिएको छैन ।’ उनले मकालु खबरसँग भने । राष्ट्र बैङ्कका पोलिसी तहमा कार्यरत एक कर्मचारीले अहिलेसम्म कुनै पनि बैङ्कलाई शनिवार एलसी खोल्न दिइएको रेकर्ड नभएको जिकिर गरे । उनले बैङ्कले शनिवार एलसी खोलेको विषयमा नेपाल राष्ट्र बैङ्कले अनुसन्धान गर्न सक्ने औल्याए । नाम नलेख्ने सर्तमा उनले भने ‘शनिवार नै कसरी एलसी खोलियो अनुसन्धानको विषय हुन्छ । यो विषय माथिल्लो तहबाट हेर्नुपर्छ ।’ उनले भने । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. नारायण भट्टराईसँग यस विषयमा बुझ्न खोज्दा उनले पछि कुरा गर्ने भन्दै फोन काटे ।

यता सनराईज बैङ्कको मुख्य कार्यालयलाई समेत एलसी खोलिएको विषयमा जानकारी छैन । मकालु खबरले आज बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । बैङ्कका ट्रेड डिपार्टका सुवर्ण रेग्मीले भने बैङ्क ३६५ दिन नै खोलिने बताउँदै शनिवार एलसी खोल्नु नौलो कुरा नभएको प्रतिक्रिया दिए । ‘हाम्रो बैङ्क ३६५ दिन नै खुल्छ, हाम्रो वेभ्साइटमा हेर्नुस्, असार मसान्तमा राष्ट्र बैङ्कले नै कारोबार गर्नु भनेकै छ ।’ उनले भने । रेग्मीले भने जस्तो सनराईज बैङ्क शनिवार पनि खुल्छ तर, बैङ्कका सबै शाखाहरु भने खुल्दैनन् । राजधानीका केही स्थानमा बैङ्कले शनिवार काउण्टर खुल्ला गरे पनि एलसी खोल्ने कार्य हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *