सिजन गुरुङकी श्रीमति भन्छिन्–‘राजनीतिक पूर्वाग्रह साँधियो’

जेठ १६, सुनसरी । नेपाल तरुण दल सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङलाई अनावश्यक आरोपमा पक्राउ गरेको प्रति उनकी श्रीमतिले आपत्ति जनाएकी छिन् । भने, तरूण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत समेत सुनसरी जाँदैछन् ।

आज एक विज्ञप्ति जारी गर्दै जग्गा विवादमा सिजन गुरुङकी श्रीमति अञ्जु लिम्बु (गुरुङ)ले राजनीतिक पूर्वाग्रहका आधारमा प्रहरीले शक्तिको दुरुपयोग गर्दै कानुनी ब्यवस्थाको उलंघन गरेको आरोप लगाएकी छिन् ।

‘जग्गाको विवादको विषयलाई लिएर स्थानीय जनप्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरु र स्वयं प्रहरी प्रशासनकै प्रतिनिधी समेत उपस्थित भएको अवस्थामा मेरो श्रीमानले कानुनी प्रक्रिया तथा सामाजिक छलफलबाट निकालिएको निष्कर्ष मान्छु भनिरहेको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा प्रहरीले शक्तिका दुरुपयोग गर्दै कानुनी ब्यवस्थालाई समेत गंभिर उलंघन कलोपल्पित र भ्रामक आरोपका भरमा पक्राउ गरी झुट्टा मुद्दा दायर गर्नु अत्यन्त खेदजनक र संबैधानिक मर्म एवं प्रचलित कानुनको बर्खिलाप छ ।’ भनिएको छ ।

नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका सिजन गुरुङलाई झुट्टा मुद्दामा फसाईएको स्थानीयले बताएका छन् । इटहरी–२० तरहराकी तीर्थ कुमारी गिरीसँगको जग्गा विवादमा गुरुङलाई प्रहरी प्रशासनले गलत मनसायले फसाएको स्थानीयको भनाई थियो ।

गुरुङलाई तरहरा–२० गोल्डेन चौक स्थित जग्गाको विषयमा विवाद उत्पन्न हुँदा कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सो जग्गा तरहरा बजारको डिसिटी क्लब नजिक पर्दछ । जसका संधियार तरहराका शम्भु खडका, शिजन गुरूङ र तिर्थ कुमारी गिरी छन् । २०६८ सालमा बाटो बनेपछि जग्गामा बिवाद सुरू भएको थियो ।

जग्गा विवाद सुरु भएसँगै स्थानीय स्तरमा विभिन्न सामाजिक काम गर्दै आएका सिजन गुरुङले आफ्नो भागको जग्गामा बासका टहरा निर्माण गरेर गरिब दुःखीलाई आस्रय दिँदै आएका थिए । गुरुङले ती टहरामा विभिन्न ब्यवसाय गरेर बसेकालाई निःशुल्क बस्न दिएपनि उनलाई पैसा उठाउने गरेको आरोप लगाईएको थियो । तर, त्यहाँ टहरा बनाएर खाजा पसल सञ्चालन गर्दै आएका इन्द्रकुमार राई, गीता पुरी र तिर्थ राईले भने आफुहरुबाट गुरुङले कुनै भाडा नलिएको बताएका छन् ।

नेपाली काग्रेसले गुरुङको पक्राउ गैरन्यायिक भएको भन्दै आन्दोलन नै शुरु गरेको छ । तरुण दल र कांग्रेसका नेता कार्यकर्ताले इटहरी, धरान र इनरुवामा दैनिक रुपमा ब्यापक प्रर्दशन गरिरहेका छन् ।

तरुण दलका अध्यक्ष इटहरीमा

आफ्ना जिल्ला अध्यक्षलाई प्रहरीले गलत आरोप लगाउँदै पक्राउ गरेपछि नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत आज इटहरी आएका छन् ।

अध्यक्ष बस्नेतले प्रहरी प्रशासनले आफ्ना कार्यकर्ता माथि धरपटक गर्न थालेपछि घटनाको वास्तविकता बुझ्न र प्रहरी प्रशासनको अभिनायकवादका विरुद्ध लड्न आफु इटहरी आएको बताए ।

मकालु खबरसँग बोल्दै कम्युनिष्ट एकतन्त्रिय अधिनायकवाद लाद्न राज्य उद्यत रहेको र त्यसका लागि तरुण दलका युवाहरुमाथि आक्रमक भईरहेको दावि गरे । ‘सिजन गुरुङमाथि लगाईएको आरोपहरु प्रायोजित हुन्, हामी छानविन गरेर अगाडी बढ्छौं ।’ अध्यक्ष बस्नेतले भने । ‘एकतन्त्रिय अधिनायकवाद लाद्न तरुण दलमाथि प्रहार भईरहेको छ, त्यसैको एउटा श्रृंखलाका रुपमा यो घटना घटेको हो । हामी यस्ता घटनाका विरुद्ध शशक्त आन्दोलनमा जान्छौं’ उनले भने ।

बस्नेतले प्रहरी प्रशासनले तत्काल गुरुङलाई सम्मानजनक रुपमा मुद्दा फिर्ता लिएर रिहा नगरे जस्तो सुकै आन्दोलन गर्न तरुण दल तयार रहेको बताए । ‘बालकृष्ण ढुङ्गेल जस्तो हत्यारालाई राष्ट्रपति लगाएर जोगाउने सरकारको आफ्ना विरोधी सिध्याउने प्रपञ्च हो, सुन तस्करलाई संरक्षण गर्ने सरकारले देशभरीका तरुण माथि आक्रमण गरेर अधिनायकवाद लाद्न खोज्दैछ, त्यसका विरुद्ध तरुण दल शशक्त आन्दोलन गर्न तयार छ ।’ उनले भने ।

उनले १९ गतेको कार्यकर्ता प्रशिक्षण पछि तरुण दल र नेपाली कांग्रेसले सरकारको अधिनायवाद विरुद्ध कठोर आन्दोलन गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *