वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, विप्लवले चेतावनी दिएको खुलासा

झापा, जेठ ७ । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएका छन् ।

विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको पक्की घरलाई लक्षित गरी शक्तिशाली विष्फोट गराइएको थियो । विष्फोट गराउनेको पहिचान भने अझै खुल्न सकेको छैन ।

प्रहरीका अनुसार छर्रा लागेर छिमेकीको घरमा पाहुना खान आएका सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

राई सोही अस्पतालकी कर्मचारी भएको खुलेको छ । प्रहरीले घटनाको बारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यसैबीच आज नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दमकको विवादित बजार स्थल क्षेत्रमा बसोबास गरिआएका सुकुम्वासीलाई प्रशासन लगाएर उठिबास गराउन मुख्य भूमिका निर्वाह गरेको भन्दै वडाध्यक्ष पौडेलसहित नगर प्रमुख रोमनाथ ओलीलाई त्यसै नछाड्ने विज्ञप्तिमार्फत चेतावनी दिएका थिए ।

लिम्बूवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद् झापाका प्रमुख सुमनसिंह पौडेलले जारी गरेको विज्ञप्तिमा त्यस्तो चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =