सांसदहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई तत्काल नागरिकता दिन माग

काठमाडौ, जेठ ४ । जन्मका आधारमा नेपाली नागरिकता पाएका बाबुआमाका सन्तानले नागरिकता पाउन नसकेको विषय संसदमा उठेको छ ।

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने संविधानको व्यवस्था विपरीत प्रमुख जिल्ला अधिकारीहरुले नागरिकता नदिएको आरोप सांसदहरुले लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै मधेसवादी दल राजपा र संघीय समाजवादी फोरमका सांसदहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई तत्काल नागरिकता दिने व्यवस्था गर्न माग गरेका छन् । यो समस्या मधेशमा बढी देखिएको छ ।

२०६३ सालमा तत्कालिन सरकारले तराई मधेसमा नागरिकता समस्या समाधान गर्न एकैपटक लाखौंलाई अभियानकै रुपमा नागरिकता वितरण गरेको थियो ।

सोहि क्रममा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तान नागरिकताका लागि योग्य हुँदा पनि उनीहरुलाई सरकारले नागरिकताबाट बन्चित गरेको सांसदहरुले बताएका छन् ।

संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले संविधानले जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानको नागरिकताको अधिकार सुरक्षित गरे पनि कानुन नबनेको भन्दै सिडिओ कार्यालयबाट फर्काइने गरेको बताएका छन् ।

सांसद यादवले भने, ‘सिडिओसाबले कानुन बनेको छैन भनेर फर्काउने गरेका छन् । जन्मसिद्ध नागरिकता लिएकाहरुका सन्तान अहिले कोही एबीए गरेर बसेका छन्, कोही विदेश जान चाहन्छन् तर नागरिकता नहुँदा जागिर खान, विदेश जान र लाइसेन्स बनाउन समेत नपाएको अवस्था छ ।’

राजपाका सांसद प्रमोदकुमार साहले पनि २०६३ सालमा जन्मसिद्ध नागरिकता पाएकाहरुका सन्तान नागरिकता विहीन भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आफ्नै देशमा नागरिकताविहीनको अवस्था हटाउन माग गरेका छन् ।

गृहमन्त्रालयका सचिवको एउटा पत्रको भरमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकताबाट बञ्चित गरिएको उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *