डेपुटी गर्भनर भन्छन्–‘फरवार्डले पुर्याएको सेवा अनुकरणीय’ (फाेटाे फिचर सहित)

“
जेठ ३, दुहवी । लघुवित्त कार्यक्रम मार्फत महिलाहरुलाई संगठित गर्ने कार्यमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले उल्लेखनिय भुमिका निर्वाह गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले बताएका छन् । सुनसरीको दुहवी स्थित फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै डेपुटी गर्भनर शिवाकोटीले लघुवित्त कार्यक्रम मार्फत संस्थाले महिलाहरुको जिवनस्तर उकास्न गरेको सहयोग अनुकरणीय भएको बताएका हुन् ।
‘नेपाली महिलाहरुलाई आर्थिक क्षेत्रमा पहुँच पुर्याउन माइक्रोफाइनान्सले पुर्याएको सेवा अनुकरणीय छ ।’ उनले भने । साधारण सभाको उद्घाटन सभाका प्रमुख अतिथि डेपुटी गर्भनर शिवाकोटीले विपन्न परिवारका दुई लाखभन्दा बढी नेपाली महिलाहरुलाई सङ्गठित गर्दै लघुवित्त कार्यक्रमका माध्यमबाट उनीहरुको जीवन स्तर उकास्न योगदान दिने फरवार्ड कम्युनिटीको कार्यप्रति धन्यवाद समेत ब्यक्त गरेका थिए ।
शिवाकोटीले फरवार्डलाई फुटवल खेलसँग तुलना गर्दै जसरी खेलमा फरवार्डको भूमिकामा खेल्ने खेलाडीको गोल गर्ने अहम भूमिका रहन्छ त्यसरी फरवार्ड माइक्रोफाइनान्सले पनी समाजमा आर्थिक विकास, शिक्षामा पहुँच, लगायतका सामाजिक काममा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै खुलेर प्रशंशा ब्यक्त गरेका थिए ।
सभामा बोल्दै वित्तीय संस्थाका अध्यक्ष भगवती चौधरीले गैर सरकारी संस्थाको रुपमा २०५२ सालमा दर्ता भएको ग्रामीण महिला उत्सुकता विकास मञ्चले नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थताकर्ता अनुमति लिई सञ्चालन गरेको लघुवित्त कार्यक्रमलाई संस्थाले अघि बढाएको जानकारी दिएकी थिइन । चौधरीले संस्थाले व्यावसायिक मर्यादाका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न परिवारको जीवनस्तर माथि उकास्न क्रियाशील रहेको बताएकी थिइन् । ‘महिला शशक्तिकरण र उनीहरुलाई आर्थिक क्षेत्रमा सक्रिय गराउने उद्देश्य अनुरुप संस्था अगाडी बढेको छ, आगामी दिनमा पनि सोहि अनुसार कार्यक्रम जारी रहन्छ ।’ उनले भनिन् ।
सभामा एभरेष्ट बैैँकका तर्फबाट सञ्चालक केशवराज पौडलले वित्तीय संस्थाको १८ बर्ष देखिको सम्वन्ध स्मरण गर्दै यस किसिमको सम्वन्ध आगामी दिनमा अझ सबल र सक्षम बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । समारोहमा जिल्ला समन्वय समिति सुनसरीका उपप्रमुख कृष्ण कुमारी बि.क., राष्ट्रिय बाणिज्य बैंक दुहवीका प्रवन्धक सुमन आचार्य समेतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले आर्थिक रुपले महिलाहरुलाई सशक्त बनाउने अभियानमा टेवा दिएको भन्दै आगामी दिनमा उद्देश्य प्राप्तिको शुभकामना दिएका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले संस्थाले २०७४ पुस मसान्तसम्म ३५ जिल्लाका १०७ शाखा कार्यालयमार्फत् २ लाख २६ हजार ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरेको जानकारी दिएका थिए । उनले हालसम्म १ लाख ४२ हजार ऋणी ग्राहक सदस्यसँग रु. ७ अर्ब ५५ करोड लगानी रहेको बताउँदै सदस्यहरुबाट रु.३ अर्ब ३७ करोड बचत सङ्कलन गरेको जानकारी गराएका थिए ।
प्रमुख कार्यकारी अधिकृत चौधरीले कर्मचारीहरुलाई २०७५ साल बैशाखबाट सुत्केरी स्याहार वापत मासिक ५ सयका दरले १ वर्ष सम्म भत्ता उपलव्ध गराउने तथा नेपाल सरकारको शैक्षिक भर्ना कार्यक्रम अन्तर्गत यस बर्ष ११ जना दलित समुदायका बालवालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री, पोशाक लगायतका सहयोग गर्ने घोषणा गरेका थिए ।
कार्यक्रमका अवसरमा प्रदेश नं. १ का प्रदेश सभा सदस्य अगमलाल चौधरी, साँसद लिलम बस्नेत, नबोदिता चौधरी, दुहवी नगरपालिकाका प्रमुख बेद नारायण गच्छदार लगायतकालाई मायाको चिनो सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । भने, वित्तीय संस्थामा एक कार्यकाल पुरा गर्ने सञ्चालकहरुलाई समेत प्रमाण पत्र सहित दोसल्लाले स्वागत सम्मान गरिएको थियो ।
कार्यक्रममा बित्तीय संस्थामा मूल्याङ्कनका आधारमा उत्कृष्ट रुपमा काम गर्ने ३ वटा शाखा कार्यालय र २७ जना कर्मचारीलाई पुरस्कृत गरिएको थियो । बचत गर्ने तथा ऋण परिचालन उत्कृष्ट ५ जना ग्राहक सदस्य र ३१२ वटा केन्द्रहरुलाई पुरस्कत गर्दै ७ लाख राशीको पुरस्कार वितरण गरिएको थियो ।
साधारण सभाको उद्घाटन सत्रमा सुनसरी प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक राजन अधिकारी, वित्तीय संस्थाका कम्पनी सचिव कृष्णप्रसाद भट्टराई, ग्रामीण लघुवित्त विकास केन्द्रका गोविन्द पौडेल, ग्रामीण महिला उत्सुकता विकास मञ्चका महासचिव कलावती चौधरी, सचिव ललिता चौधरी, कोषाध्यक्ष राजकुमारी तबदार लगायत तीन सय भन्दा बढीको उपस्थिति रहेको थियो ।
“








