गृहमन्त्रीले मागे लापरवाही गर्ने ठेकेदारको सूचि

“
काठमाडौँ, जेष्ठ ३ । देशभरको सबै क्षेत्रमा हुने सिन्डीकेट अन्त्य गर्छु भनेर लागि परेका गृहमन्त्री रामबहादुर थापा’बादल’ले निर्माणका काममा लापरवाही गर्ने ठेकेदारलाई पनि तह लगाउने भएका छन् । गृहमन्त्रि थापाले देशभरका लापर्वाही गर्ने ठेकेदारहरुको विवरण माग गरेका छन् ।
गृहमन्त्री थापाको निर्देशनपछि बिहीबार गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर अलपत्र छोड्ने र गुणस्तरहीन निर्माण गर्ने ठेकेदारहरुको सूची पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
बिहीबार बिभिन्न मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्री बादलले यस्तो सूची बनाउन निर्देशन दिएका छन् । गृहमन्त्री बादलको निर्देशन अनुसार गृह मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको हो ।
परिपत्रमा भनिएको छ, ”जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने र्फम, ठेकेदारको ठेगाना, सम्पर्क नम्बर समेतका विवरण एक हप्ता भित्र तयार गरी मन्त्रालयमा सफ्ट कपी सहित पठाउने ।”
गृहमन्त्रालयले निर्माण कार्यमा लापर्वाही गर्ने ठेकेदारहरुको सूची आइसकेपछि उनीहरुमाथि कारवाहीको प्रक्रिया अघि बढाउनेछ ।
“








