नेपाल–भारत मैत्री बस सेवा (जनकपुर–अयोध्या) अनिश्चितकालिन बन्द

“
धनुषा, जेठ ३ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।
दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गरेको बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरूले सस्तो लोकप्रियताका लागि मात्र बस सेवा सञ्चालन गरेको आरोप लगाएका छन् । मोदीको भ्रमणको मौका पारेर बिना तयारी उद्घाटन गरिएको बस सेवा नियमित सञ्चालन हुन कम्तीमा ६ महिना लाग्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
गत वैशाख २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किट र जनकपुर–अयोध्या सिधा बस सेवा शुभारम्भ गरेका थिए ।
प्रदेश सरकारका आन्तरिक मामिला राज्यमन्त्री सरोज सिंह कुशवाह र जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीताकुमारी मिश्रसहित ३४ यात्रु लिएर गएको बस अयोध्या पुगेर आइतबार फर्किएपछि हाललाई अनिश्चितकालका लागि सेवा बन्द गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार रामायण सर्किट भनिएको धार्मिक पर्यटन मार्ग जोड्नका लागि रुट तय गर्नुपर्ने भएकाले अहिले बस सेवा रोकिएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव केशव शर्माले जनकपुरदेखि अयोध्यासम्मको रुट, बस भाडा, रोकिने स्थललगायत प्राविधिक पक्षमा सहमतिपछि नियमित बस सञ्चालन गर्नुपर्ने भएकाले दुवै देशको संयुक्त बैठक छिट्टै बसेर निर्णय गर्ने जानकारी दिएका छन् ।
दुवै देशका प्रधानमन्त्रीबीच भेट हुने अवसर विरलै आउने भएकाले मोदीको भ्रमणका क्रममा सांकेतिक रुपमा बससेवा सञ्चालन गरिएको मन्त्रालयलले जनाएको छ ।
“








