वैदेशिक रोजगारीको क्षेत्रमा ठगी गर्ने व्यवसायीलाई कारबाही !

काठमाडौँ, जेठ ३ । भिजा प्रक्रिया, मेडिकल लगायत विभिन्न नाममा विभिन्न संस्थाहरु खडा गर्दै वैदेशिक रोजगारीमा अतिरिक्त शुल्क लिने व्यवसायीहरुलाई कारबाहीको दाहेरामा ल्याउन सरकारले तयारी गरेको छ । अवैधानिक रुपमा सिन्डिकेट खडा गर्ने व्यवसायीलाई सरकारले कानुनी कारबाही ल्याउने तयारी गरेको हो ।

अवैधानिक रुपमा खुलेका नाफाखोर व्यवसायलाई प्रारिम्भक अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि बढाउन श्रम तथा रोजगार मन्त्रालयले गृहमन्त्रालयसँग अनुरोध गरेको छ ।

यसमा आवश्यक अनुसन्धान गरेर गृहले केही दिनभित्र अवैधानिक रुपमा सिन्डिकेट चलाइरहेका व्यवसायीविरुद्ध ‘एक्सन’ लिन लागिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

मन्त्री बिष्टले भने, ‘केही सीमित व्यक्तिको लाभका लागि लाखौं नेपालीहरु ठगिने यो बेथितिको अवस्था धेरै समय रहँदैन, कानुन बिपरीत भएका कामलाई सरकारले खारेज गर्छ ।’

कानुन विपरीत कामदारसँग शुल्क असुल्नेविरुद्ध श्रम तथा रोजगारमन्त्री बिष्टले कडा कारबाही हुने संकेत दिएका छन् ।

गृहमन्त्री बादलले पनि सिन्डिकेट विरुद्ध शसक्त भूमिका देखाएका छन् । यातायात सिन्डिकेटका विरुद्धमा पनि गृहमन्त्री बादल नै उठेका थिए ।

विभिन्न देशमा कामका लागि जाने युवालाई अवैधानिक रुपमा अतिरिक्त शुल्क थोपर्ने काममा संलग्न व्यवसायीमाथि संगठित अपराध तथा ठगी मुद्दा चल्न सक्ने मन्त्रालयले जनाएको छ ।

नेपाली कामदार जाने मुख्य श्रम गन्तब्य मुलुकका उच्च श्रम अधिकारीसँग मिलेमतो गरेर नेपालमा कामदारसँग पैसा उठाइरहेका एजेन्टलाई कारवाही गर्न श्रमले गृहलाई सिफारिस गरेको हो । अतिरिक्त शुल्क उठाउने काममा यसअघि श्रम तथा रोजगार मन्त्रालयमै रहेका अधिकारीको मौन समर्थन थियो ।

कुटनीतिक पहल गरेर सबै मुलुक जाने कामदारले अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था हटाइने श्रममन्त्री विष्टले बताए । उनले कानुनले तोकेकोभन्दा बढी शुल्क लिनु गैरकानुनी भएकाले राज्यले त्यसलाई गम्भीर रुपमा लिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *